बाँकेकी २५ वर्षीया अनुपा रिजाल (नाम परिवर्तन) पेट दुःखेको भन्दै औषधी गर्न घरबाट निस्किइन्।
साढे पाँच वर्षको छोरालाई छोडेर पेट दुःखेको उपचार गर्न निस्केकी रिजाल साँझ घर नफर्किएपछि घरपरिवार तनावमा परे। उपचार गर्न निस्केकी बुहारीले घरमा भएका गरगहना बोकेर लगेको पाइएपछि घटना थप रहस्यमय बन्यो।
भोलिपल्ट २२ गते नै घरपरिवारले इलाका प्रहरी कार्यालय, कोहलपुरमा खोजबिनका लागि निवेदन दिए। अनुपाका श्रीमान तीन वर्षदेखि बैदेशिक रोजगारका लागि कुवेतमा छन्। रिजाल परपुरुषसँग गएको आफन्तहरुले बताएका छन्।
यो त एउटा उदाहरण मात्रै हो। श्रीमान बैदेशिक रोजगारमा रहदा साउनयता बाँकेको कोहलपुर क्षेत्रबाट मात्रै ८९ जना विवाहित महिला हराएका छन्। इलाका प्रहरी कार्यालय, कोहलपुरका महिला सेलकी हवल्दार शान्ति रावलका अनुसार, यी सबै श्रीमतीहरु श्रीमान बैदेशिक रोजगारमा हुँदा हराएका हुन्।
८९ जनामध्ये ६० जनाजतिको श्रीमान अहिले पनि विदेशमा छन्। अरु श्रीमान विदेशबाट फर्केको केही दिन या फर्किन थालेको सूचना दिइसकेपछि हराएका हुन्। ‘धेरैको त श्रीमान विदेशमै छन्, केही चाहि श्रीमान फर्किएको केही दिनमै हिसाव देखाउन भनेपछि र केही श्रीमान फर्किदै छन् भन्ने थाहा पाएपछि हराएका हुन्,’ महिला सेलकी हवल्दार रावलले भनिन्, ‘यीमध्ये २५ जना फेला परेका छन् ।’
फेला परेकाहरु माइती या साथीहरुसँग प्रहरीकहाँ आउने गरेका छन्। श्रीमानले हिसाव खोज्दा समूह या यताउता खर्च भएको भन्दै टार्ने गर्दछन्। हवल्दार रावलका अनुसार, केहीले उल्टै श्रीमानलाई हिंसाको आरोप लगाउँछन्। प्रहरी कार्यालयबाट प्रायःजसो हामी गाउँमै गएर मिल्छौं भनेर जान्छन् र पछि फर्केर आउँदैनन्। केही भने अदालत गएका छन्।
कोहलपुर क्षेत्रबाट बैदेशिक रोजगारमा गएपछि श्रीमतीबाट ठगिएका पुरुष हुन्, यिनीहरु। बाँकेमा यस्ता घटना अझ धेरै छन्। जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जमा यो भन्दा धेरै निवेदनका चाङ छ।
प्रतिक्रिया दिनुहोस्