बाँकेमा धुमधामका साथ मनाइयो होली



कोहलपुर,१८ फागुन/  आज तराइका जिल्लाहरुमा फागु अर्थात होली पर्व धुमधामका साथ मनाइएको छ । तराइमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेलिएको छ ।

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ मानिन्छ । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले शुक्रबार तराइका जिल्लामा सार्वजानिक विदा दिइएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ बाँकेले पनि शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । बाँके जिल्ला अधिकारी रमेश कुमार के शी को प्रमुख आतित्थ्यमा भएको कार्यक्रमा बाँकेमा कार्यरत सम्पुर्ण सञ्चारकर्मि, अधिकारकर्मी, सरकारी तथा गैरसरकारी सँस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १८ गते शुक्रबार