17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

प्रजातन्त्र दिवसको अवसरमा बसपार्क सरसफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

कोहलपुर,७ फागुन/   ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कोहलपुर नगरपालिका र नगरसरकारको आयोजनामा आइतबार कोहलपुरको बसपार्कमा वृहत सरसफाई कार्यक्रम गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरु मध्ये आइतबार पहिलो दिन कोहलपुरको बसपार्क सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको नेतृत्वमा रहेको ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको पहलमा भएको
हो ।

सरसफाई कार्यक्रमको समापन गर्दै कोहलपुर नगरपालिका प्रमुख लूट बहहादुर रावतले बसपार्कका ब्यापारी , यातायात व्यवसायी , कर्मचारी , बसपार्क सुधार समितिका पदाधिकारी तथा सदस्यहरुलाई कोहलपुरको बसपार्कलाई सफा राख्ने दायित्व तपाईहरुकै भएको भन्दै आफूहरुले त बाटो मात्रै देखाइदिएको धारणा राखे ।

नगरपालिकाले आयोजना गरेर बाहिरबाट अरु मानिसहरु आएर सफा गरेर बसपार्कको सधै सफाई हुन नसक्ने भन्दै रावतले बसपार्क सुधार समितिले यस्तो सरसफाईको नेतृत्व गरेर बसपार्कलाई सधै सफा राख्नु पर्ने बताए ।

बसपार्क सफा गरिरहँदा बसपार्ककै मानिसहरुको न्यून सहभागिता रहेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख रावतले भने, ‘यहाँ बस्ने मानिसहरुलाई फोहरी मानिसको संज्ञा दिने अवस्था सिर्जना गराउने वा सभ्य नागरिक भएको पहिचान राख्ने यो तपाईहरुकै हातमा रहेको छ ।’

बसपार्क सरसफाई गर्दा आइतबार बिहान दुई ट्राली भन्दा बढी फोहर संकलन भएको र त्यसमा अधिकांश फोहर सुर्तिजन्य पदार्थ स्यामबहार ,पानपराग, सुद्धप्लस,मेघाश्री,भोला लगायतका खोस्टाहरु पाइएका थिए ।

यी सुर्तिजन्य पदार्थहरुलाई कोहलपुर नगरपालिका र नगरसरकारले नगरपालिका क्षेत्र भित्र विक्री वितरणमा प्रतिबन्द लगाएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख रावतले चेतावनीको भाषामा भने , नगरसरकारले कानून बनाएर सार्वजनिक ठाउँमा कार्यक्रम गरी प्रतिबन्द लगाएको विषय कसैले पनि मैले थाहा पाइन भन्न नपाउने र नगर सरकारको निर्णयको वर्खिलावमा जाने वा नमान्ने जो कसैलाई पनि कानून बमोजिम कारबाही गरिेने छ ।’

बसपार्कका ब्यापारीहरुलाई तपाईहरु कसैले ती पदार्थहरु राख्नु भएको छ भने आजकै दिन नष्ट गरिदिनु होला , अनुगमन गर्दा फेला परेमा सामान जफत गरिनुका सार्थ त्यस्तो निषेधित वस्तु बेचविखन गर्नेहरुलाई कानून बमोजिम कारबाही हुने छ ।’

सरसफाई कार्यक्रममा नगर प्रमुख रावत सहित नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयमसेविकाहरु, त्रिपुरागणको शसस्त्र प्रहरी बलको टोली, ईलाका प्रहरी कार्यालय कोहलपुर , राजनीतिक दलहरुका प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु , पत्रकारहरु ,अन्य सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     6:50:22 AM  |