29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

वन्यजन्तुबाट जाेगिन जालीसहितको विद्युतीय तारवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

बर्दीया,६ फागुन/  बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा रहेको ठाकुरबाबा नगरपालिका–७ मोहनपुरमा जालीसहितको ११ सय मिटर विद्युतीय तारवार निर्माण गरिएको छ ।

जंगली जनावरहरुबाट सुरक्षित रहनका लागि विद्युतीय तारबार निर्माण गरिएको ठाकुरबाबा नगरपालिकाका वडाध्यक्ष पदम खड्काले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका स्थानीयहरु यसअघि हात्ती, गैंडा, बँदेल, चित्तललगायतका जंगली जनावरको आक्रमणबाट हैरानी बेहोर्दै आएका थिए ।

गाउँमा पटक–पटक जंगली जनावररुले स्थानीयको बालीनाली विगार्ने, घरगोठ भत्काउने गरेका छन् । जंगली जनावरको आक्रमणबाट कतिपय सर्वसाधारणको ज्यानसमेत जाने गरेको छ ।

ठाकुरवावा नगरपालिकाको अनुदान १० लाख रुपैयाँ, बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग ९ लाख रुपैयाँ र स्थानीय जनसहभागिताको २ लाख ३४ हजार १६ रुपैयाँ गरी जम्मा २१ लाख ३४ हजार १६ रुपैयाँको लागतमा तारवार निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष जनकलाल चौधरीले बताउनुभयो ।

विद्युतीय र सौर्य उर्जा दुवैको प्रयोगबाट सञ्चालन हुने र जालीसहितको ५ फिट अग्लो विद्युतीय तारवार भएकाले अबदेखि यस्तो समस्याबाट छुटकारा मिल्ने स्थानीयहरुको भनाई छ ।

झण्डै २८ सय ७० मिटरमध्ये ११ सय मिटरमामात्रै अहिलेसम्म तारबार लगाइएकोले बाँकी स्थानमा पनि तत्काल तारबार लगाइयोस् भन्ने स्थानीयको माग छ । यति भएमा पूर्ण रुपमा जंगली जनावरको आाक्रमणबाट बच्न सकिने स्थानीयको भनाई छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     7:20:27 PM  |