24 September 2023  |   आइतवार, अशोज ७, २०८०

ठाकुरबाबा नगरपालिका भित्रका विद्यालयमा मोवाइल फोन निषेध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

सुदीप अधिकारी : बर्दिया, ५ फागुन/   बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई विद्यालयमा मोवाइल फोन प्रयोग निषेध गरिएको छ । अब विद्यार्थीहरुले विद्यालय परिसरमा मोवाइल फोन प्रयोग गर्न पाउने छैनन् ।

विद्यार्थीले मोवाइल ल्याएको वा नल्याएको चेकजाँच विद्यालयको गेटमै गरिने भएको छ । ल्याएको भए अभिभावकलाई बोलाइ मोवाइल फोन जिम्मा लगाइने भएको छ । शिक्षकहरुले भने विद्यालयमा मोवाइल फोन ल्याउन पाएपनि कक्षाकोठामा लैजान पाउँने छैनन् ।

शिक्षकहरुले कार्यालयमा मोवाइल राखेर मात्र कक्षाकोठामा प्रवेश गर्नु पर्ने छ । शिक्षकहरुले कार्यालय कक्षमा मात्र मोवाइल फोन प्रयोग गर्न पाउने छन् ।

नगरप्रमुख, उपप्रमुख, जिल्ला शिक्षा अधिकारी, श्रोतव्यक्ति, ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्य, ठाकुरबाबा नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र राजनैतिक दलका प्रतिनिधिहरुको एक बैठकले विद्यालयमा मोवाइल फोनको प्रयोग निषेध गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय मोबाइल फोनको प्रयोगले विद्यार्थीको पढाइमा नकारात्मक असर परेकाले यसलाई न्युनिकरण गर्न यस्तो निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका स्रोतव्यक्ति नन्दराम अधिकारीले जानकारी दिए ।

उनले भने, ‘ विद्यार्थीहरुले कक्षा कोठामै गीत सुन्ने, भिडियो हेर्ने, अनावश्यक फोटो खिच्ने जस्ता गतिविधि बढ्दै गएको पाइएकोले मोबाइल फोनको दुरुपयोग रोक्न सबैको सहमतिमा यो निर्णय गरिएको हो । ’

पछिल्लो समयमा माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा विद्यालयमा मोबाइल फोनको प्रयोग बढ्दै गएको पाइन्छ । माथिल्लो तहका विद्यार्थीको सिको गरेर तल्लो तहका विद्यार्थीले पनि विद्यालयमा लुकाइछिपाई मोवाइल ल्याउने गरेको एक शिक्षकले बताए ।

विद्यालयमा मोवाइल फोनको प्रयोग रोक्न सबै विद्यालयका प्रधानाध्यापकहरुले प्रतिवद्धता जनाएका छन् । अनुगमनका क्रममा मोवाइल फोनको प्रयोग गरेको पाइएमा कारवाही हुने स्रोतव्यक्ति नन्दराम अधिकारीले बताए ।

विद्यालयमा मोवाइल फोन लैजान नपाउने निर्णयलाई शिक्षक तथा अभिभावकहरुले स्वागत गरेका छन् । स्थानीय अभिभावक नरेश सुनारले भने, ‘ राम्रो निर्णय भएको छ । यसले विद्यार्थीको पठनपाठन र विद्यालयको वातावरणमा सुधार अवश्य ल्याउने छ । ’

यसैगरी विद्यालयमा व्यवहारिक शिक्षा लागू गर्ने सम्वन्धमा पनि सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । सैद्धान्तिक शिक्षालाई दैनिक जीवन पद्धतिसँग जोडेर शिक्षा प्रदान गरिएमा सिकाई दिगो र प्रभावकारी हुनेमा सरोकारवालहरुले जोड दिएका छन् ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले नगरक्षेत्रको शैक्षिक विकास र विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक उन्नतीका लागि नगरपालिका सदैब तत्पर रहेको बताए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     7:58:38 AM  |