2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

डुडुवा गाउँपालिकाले पञ्चवर्षिय रणनीति योजना तयार गर्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

कोहलपुर,६ फागुन/   बाँकेको डुडुवा गाउँपालिकाको पञ्चवर्षिय अद्यावधिक रणनीतिक योजना तयार गरिने भएको छ । गाउँपालिकाको समस्याको पहिचान गरी समग्र विकासका लागि रणनीती योजना तयार गर्न लागिएको हो ।

गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाढी प्रकोपको अवस्थालाई चित्रण गरी समाधानको योजनासहितको योजना तयार गरिने गाउँपालिकाले जनाएको छ ।

सोका लागि घरधुरी सर्वेक्षण सम्वन्धी दुई दिने अभिमुखीकरण शनिबारबाट नेपालगन्जमा शुरु भएको छ । अभिमुखीकरणको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले गाउँपालिका अन्तरगतका सम्पुर्ण परिवारहरुको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको पहिचान गरी तथ्यांक संकलन गरी अनलाईन प्रर्णालीमा सुरक्षीत राखिने बताए ।

चौधरीका अनुसार नमुना गाउँपालिका बनाउनका लागि सबैभन्दा पहिले गाउँपालिकाको प्रोफाईलको आवश्यकता रहेकाले तथ्याक संकलन शुरु गरिएको हो । उनको जनताको माग बमोजिम सरल र सहज तरिकाले सकेसम्म घरमै सबै सेवा पु¥याउने लक्ष्यका साथ आगामी योजना निमार्ण गर्न लागेको बताए ।

अभिमुखीकरणको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, प्रेस सल्लाहकार राकेशकुमार मिश्र, वडा सचिवद्धय मानबहादुर बोगटी र ऋषिराज गौतमले रणनीतिक योजनाका विषयमा आ—आफ्नो धारणा राखेका थिए ।

आइतबार सम्म संचालन हुने अभिमुखीकरणमा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वडाका गरी ६० जना सकंलनकर्ताको सहभागिता रहेको छ । कार्यक्रममा विषयगत विवरणको परिभाषा, औचित्य, कानूनी आधार, प्रक्रिया, मौलिक विषयबस्तु, लगायतका विषयमा अधिवक्ता प्रभाकर भट्टराईले सहजीकरण गरेका छन् । अभिमुखीकरण पश्चात गाउँपालिकाले संकलनकर्तालाई समुदायमा पठाएर सर्वेक्षणको कार्य शुरु गर्नेछ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     7:53:34 AM  |