कोहलपुर,६ फागुन/ समाज सेवा संस्था नेपाल ईकाइ समिति कोहलपुर–८ पिपरी बाँकेका नव निर्वाचित पदाधिकारीहरुले शनिबार सपथ ग्रहण गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती आधारभूत विद्यालयमा आयोजित सपथ ग्रहण तथा विविध सांस्कृतिक कार्यक्रमका विच सोही वडाका वडाध्यक्ष रेशम बहादुर खत्रीले समितिकी अध्यक्ष अश्मिता पुनलाई सपथ ग्रहण गराएका थिए ।
समितिका अन्य पदाधिकारी र सदस्यहरुलाई भने सोही समितिकी अध्यक्ष पुन मगरले सपथ गराएकी थिइन् । गत माघ ६ गते अस्मिता पुनमगरको अध्यक्षतामा ११ जनाको कार्यसमिति बनेको थियो ।
कार्यक्रममा विभिन्न साँंस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रम अन्र्तगत नृत्य, गित, कविता लगायत भ्रष्टाचारविरुद्धको जनचेतनामूलक नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना प्रदान गर्दै आफ्नो वडामा समाज सेवा संस्था नेपाल ईकाइ समिति गठन भएकोमा खुसी व्यक्त गरे ।
साथै अध्यक्ष खत्रीले समितिले समाजमा हुने विभिन्न विकृति र विसङ्गतिहरुको विरुद्धमा सचेतनामूलक अभियानहरु सञ्चालन गरी सभ्य समाजको निर्माणमा ठूलो भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
यस्तै कार्यक्रममा समाज सेवा संस्था नेपालका केन्द्रीय अध्यक्ष विनोद थापाले संस्थाको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै आफ्नो संस्था विशुद्ध गैरराजनीतिक, सेवामूलक र मानवताबादी संस्था भएकोले यसमा आवद्ध सदस्यहरु सधै सामाजिक सेवामूलक र मानवहितका कामगर्न तत्पर रहने बताए ।
कार्यक्रममा कोहलपुर वडा नं.१४ का वडा सदस्य मन बहादुर गुरुङ, नेविसंघ बाँकेका अध्यक्ष पूर्ण पप्रसाद आचार्य, स्थानीय शान्ति समितिका प्रतिनिधि पिताम्वर आचार्य, अस्थायी प्रहरी चौकी हवलखारपपुरका प्रमुख कमल बहादुर केसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम समितिकी अध्यक्ष अस्मिता पुनको सभापतित्वको सम्पन्न भएको थियो भने सञ्चालन सचिव नारायण विसीले गर्नु भएको थियो ।