कोहलपुर,०१ फागुन/ महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्वि मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।
माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन मंगलबार भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यस दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसैबिच नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा पनि भक्तजनहरुको निकै भिड लागेको थियो । वागेश्वरी मन्दिरमा रहेको जुङ्गेश्वर महादेबको दर्शनका लागि भक्तजनहरुको भिड बढेको हो । यो जुङ्गेश्वर महादेवको प्रतिमालाई एशियाकै सबैभन्दा अग्लो मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्