बालश्रमको अवस्था बारे अनुगमन



नेपालगञ्ज,२५ माघ/   नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा बुधबार श्रमिक बालबालिका र परिवारसँग भेटघाट तथा अनुगमन गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालीत बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो अनुगमन गरिएको हो ।

वडाका विभिन्न ६ परिवारसँग गरिएको भेटघाट तथा अनुगमनको क्रममा बालबालिकाले काममा जानुको कारण, परिवारको आर्थिक अवस्था, श्रमिक बालबालिकालाई कसरी विद्यालय पठाउने, श्रमिक परिवारको अवस्थामा सुधार का लागि के गर्न सकिएला लगायतका विषयमा श्रमिक परिवारका अभिभावकहरुसँग छलफल गरिएको थियो ।

छलफलको क्रममा कतिपय परिवारको आर्थिक अवस्था निकै न्यून भएकाले बालबालिका श्रम गर्न बाध्य भएको पाईएको छ भने बालबालिकालाई बिद्यालय भन्दा काममा लगाउनु पर्छ भन्ने पारिवारिक सोचका कारण बालबालिकाहरुले पढाई छाड्ने गरेको पाइएकोछ ।

अनुगमनका क्रममा बालबालिकालाई श्रममा लगाउदाका बेफाईदा, परिवारको आयस्तर सुधार, बालबालिकालाई बिद्यालय पठाउनका फाईदा तथा कानुनी प्रावधानका बिषयमा अनुगमन टोलीका सदस्य नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष अजय पाठक, नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, लगाएतले जानकारी गराएका थिए ।

भेटघाट पश्चात श्रमिक बालबालिका तथा परिवारले आफ्नै घरमा वडाका पदाधिकारीहरु आएकोमा खुसी ब्यक्त गर्दै बालबालिकाहरुलाई बिद्यालय पठाउने प्रतिवद्धता गरेका छन् । श्रमिक बालबालिकाहरुलाई विद्यालय पठाउन र परिवारको आर्थिक अवस्थामा सुधार गर्नका लागि आवश्यक परामर्श तथा पहल गर्ने कार्यक्रमहरु गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार