बर्दियामा “क्लीन सिटि ग्रिन सिटि” अभियान शुरु



बर्दिया,१३ माघ/   बर्दियाको गुलरियामा “क्लीन सिटि ग्रिन सिटि” अभियान सुरु हुने भएको छ । नगरपालिकाबाट साप्ताहिक रुपमा सरसफाइ अभियान सुरु हुने भएको हो ।

गुलरियामा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाले आयोजना गरेको बहु सरोकारवालाहरुको फोहोर मैला व्यवस्थापन तथा पुर्णसरसफाइ सम्बन्धी अभिमुखिकरण तथा सचेतीकरण कार्यक्रममा सहभागीहरुले साप्ताहिक रुपमा नगर सफाइ अभियान सञ्चालन गर्ने बताएका हुन् ।

गुलरियाबाट सुरु गरिए पनि बर्दिया जिल्लाका सम्पुर्ण नगरपालिका र गाउँपालिकामा यो अभियान सञ्चालन गरिने कार्यक्रममा बताइएको छ ।  गुलरिया नगरबाट सुरु गरेतापनि सरसफाइ अभियानलाई जिल्ला भरी नै सञ्चालन गरिने खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाका सदस्य सचिव दिलिपकुमारले बताए ।

उनले भने जिल्लालाई सफा सुन्दर र हराभरा बनाउने उद्देश्यले यो अभियानको सुरुवात गरिएको हो । यस अभियानको सुरुवात सदरमुकाम गुलरियाबाट शुरु गरी सम्पुर्ण जिल्ला भरीका बस्ती बस्तीमा पु¥याउने सोच रहेको आयोजकले बताएका छन् ।

आज (शनिबार) विहान ८ः३० बजे देखि सुरु हुने सरसफाइ अभियानमा जिल्लाका खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने, सरकारी कार्यालय,संघ –संस्था, सुरक्षा निकाय, जनप्रतिनिधिहरु लगायत स्थानीय उद्योगी व्यापारीहरुको समेत सहभागीता रहने छ । यस अघि छिटपुट रुपमा बजार सरसफाइ गरिएता पनि अभियान कै रुपमा भने हालसम्म सञ्चालन गरिएको थिएन ।
सन् २०१६ मा बर्दिया तराइ कै पहिलो खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको थियो । खुल्ला दिशा मुक्त जिल्ला घोषणा पश्चात् केही समय सरसफाइ अभियान सुस्ताएपनि पछिल्लो समयमा जिल्लामा पुर्णसरसफाइ रणनीतिक योजना बनाई सन् २०२० भित्र पुर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने तयारीमा रहेको छ । हाल बर्दियामा सरकारी तथा गैरसरकारी संस्थाहरुले पुणसरसफाइ अभियानहरु सञ्चालन गरिरहेका छन् ।
युएन ह्याविट्याट, आईडिएस नेपाल र मायुस बर्दियाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागीरुले बर्दिया जिल्लालाई तराई कै पहिलो पुर्णसरसफाइ उन्मुख जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार