नेपालगञ्ज,५ माघ/ बैदेशिक रोजगारमा जानेहरुका लागि अब नेपालगन्जमा नियमित अभिमुखीकरण गरिने भएको छ । नेपाल सरकारको विकेन्द्रीकरण नीति अनुसार अभिमुखीकरण दिने संस्थाहरु नेपालगंजमा खुलेपछि यस्तो सम्भव भएको हो ।
सरकारले काठमाण्डौ बाहिर तालिम संचालन गर्ने अनुमती दिएपछि नेपालगन्जमा ४ वटा संस्था स्थापना भएका छन् । यी संस्थाहरुले मध्यपश्चिमका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखीकरण गर्ने श्रम कार्यालय, नेपालगंजले जनाएको छ ।
यसैवीच नेपाल सरकारद्धारा मान्यता प्राप्त बागेश्वरी इन्टरनेशनल इन्स्टिच्युट प्रा.लिको आज नेपालगन्जमा शुभारम्भ गरिएको छ । यो संस्थाले बैदेशिक रोजगारमा जानेहरुका लागि दुई दिने अभिमुखीकरण गर्ने संस्थाका सञ्चालक विरेन्द्र गिरीले बताए ।
सुभारम्भ कार्यक्रममा श्रम कार्यालय नेपालगन्जका प्रमुख मनोज यादवले सरकारको विकेन्द्रीकरणको अवधारणाले विदेश जानेका लागि राहत तथा खर्च कटौती भएको बताए । उनले तालिम केन्द्रहरुले विदेश जानेहरुसंगको नियमित पृष्ठपोषण गरी समन्वयकारी भुमिका निर्वाह गर्नुका साथै श्रमकार्यालयले पनि अनुगमनको कार्य प्रभावकारी बनाउने प्रतिबद्धता गरे ।
संस्थाका अध्यक्ष आकाश रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मध्यपश्चिम वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तेजुसिंह रावतले वैदेशिक रोजगार सम्बन्धी परामर्श बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा मेनपावर कम्पनी, बैदेशिक रोजगारमा जाने व्यक्ति, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्