नियात्रा
– सृर्जन लम्साल
धेरै वर्षपछि यसपालि मलाई बहिनी राधाको घर जाने मौका मिल्यो । समयको लामो अन्तरालपछि गएको भएर हो कि रमाइलो लाग्यो । हुन पनि तनहुँको जामुने भञ्ज्याङ गा.वि.स. प्राकृतिक सुन्दरताले पूर्ण छ । आफ्नै जिल्ला भएकोले पुराना सम्झनाहरू एकएक गरेर आउन थाल्दछन् । पहिलेदेखि जाने इच्छा भएर पनि अहिलेसम्म जान नसकेको ठाउँ बन्दिपुर पुग्न लालायित हुन्छु म तर एक्लै यात्रामा निक्लन नमज्जा लाग्दछ । त्यसैले ज्वाइँ टङ्कनाथ घिमिरेलाई यात्रामा साथ दिन आग्रह गर्दछु । घर छोड्नै नसकिने परिस्थिति हुँदाहुँदै पनि नाइ भन्न सक्नुहुन्न उहाँ ! हामी बन्दिपुर जाने निधो गरी भोजन पर्खेर बस्दछौँ ।
भोजनपछि हामी सडकमा निस्केर बस चढ्दछौँ । बसभित्र हपहप्ती गर्मी छ तर बाहिरी वातावरण भने रमाइलो छ । वसन्तले बिदा लिइसकेको छ । वनस्पति जगत्ले आफ्नो चोला फेरिसकेको छ । चारैतिर हरियाली छ । तलतलका फाँटहरूमा लहलह धानखेत छन्, माथिमाथिका पाखाहरूमा कलकलाउँदा मकैबारी छन् । हावाले बयेली खेल्दा ती खेतबारीहरूमा समुद्रमा लहरी चलेजस्तो देखिन्छ । प्रकृतिमा पनि पहिले र अहिलेमा कति फरक आइसकेको छ । मलाई लाग्छ मान्छेको ज्ञान सीमित हुँदो रहेछ र सत्य पनि समय सापेक्ष हुँदो रहेछ । लेखनाथ पौड्यालले प्रकृतिलाई चिनेका रहेनछन् । उनले भनेका थिए— “हुँदैन धान्यादिक चैत्रमा किन ? तँलाई मालुम छ कि यो कुरा मन ?” अहिले चारैतिर लहराइरहेको चैते धानले लेखनाथलाई अज्ञानी साबित गरिरहेको छ ।
एक घण्टाभित्रै हामी डुम्रेमा ओर्लन्छौँ । आज २०६४ जेठ ६ गतेको दिन, सूर्य हाम्रै टाउकामाथि हिँडेझैँ लाग्छ । मानौँ सूर्यको राप जति सबै सोहरिएर हाम्रै टाउकामाथि खनिइरहेको छ । आज संयोग पनि त्यस्तै छ, तल डुम्रे बजारमा प्रचण्ड गर्मीको राप छ, माथि बन्दिपुरमा कमरेड प्रचण्डको प्रवचनको ताप छ । त्यसैले आज मान्छेको बढ्ता चाप छ !
उखुका लाँक्राझैँ हामी कोचिएको जीप ठस्ठसी कन्दै उकालो लाग्दछ । उकालोको आधाआधीमा पुगेपछि जीप एकाएक पाखा लागेर रोकिन्छ । पाँच–सात वटा गाडीहरू हुइँक्क हुइँक्क गरेर क्रस हुन्छन् । कार्यक्रम सकेर माओवादी नेताहरू फर्केको भन्ने बुझिन्छ । ती गाडीहरू निखि«सकेपछि हाम्रो जीपले फेरि गति लिन्छ । जतिमाथि पुग्यो त्यति शीतल लाग्ने, त्यति रमाइलो लाग्ने, त्यति आनन्द आउने यो पहाड सुन्दरी बन्दिपुरको विशेषता रहेछ । डुम्रे छोडेको अन्दाजी बीस मिनेटमै पहिलो पटक बन्दिपुरमा पाइला टेक्न पुग्दछु म ! ज्वाइँ टङ्कनाथजी त पहिले पहिले पनि यहाँ आइसक्नुभएकाले उहाँलाई कस्तो अनुभूति भइरहेको छ कुन्नि ? म भने पहिलो आगन्तुक भएकोले बढी रोमान्चित भइरहेको छु ।
सहर प्रवेश गर्नभन्दा पहिले एकछिन उभिएर चारैतिर आँखा डुलाउँछु । जता हे¥यो त्यतै रमाइलो लाग्ने, जे हे¥यो त्यही राम्रो देखिने, जति हे¥यो त्यति आनन्द आउने, बन्दिपुरका पाखापखेराहरू, कलकलाउँदा मकैबारीहरू, गहन सुन्तलाघारीहरू, वरदेखि परसम्मका, नजिकदेखि टाढासम्मका निश्चिन्त र निस्फिक्री लम्पसार परेर सुतेका शश्यश्यामला पर्वतमालाहरू, हिमशृङ्खलाहरू मन मुग्धकारी
लाग्दछन् । चारैतिरको रमाइलो एकै नजरमा देख्दा बडो आनन्द आउँछ मलाई तर उत्तरतिरका उच्च धवल हिमशृङ्खलाहरूको लामो सुन्दर पर्खाललाई बेइमान कालो बादलले अपहरण गरेर कता लुकाएछ
कता ! जसलाई हेर्न भनेर यहाँसम्म आइयो, उसैलाई देख्न नपाउँदा खिन्न भयो मन ! तिरोहित हिमाललाई सम्झेर एकछिन त टोलाइरहेँ म ! बस बिसौनीनेर कात्तिक मङ्सिर महिनामा देख्न सकिने हिमदृश्यको तस्बिर ठूलो होर्डिङबोर्डमा राखिएको रहेछ, त्यसैलाई हेरेर चित्त बुझाउनु प¥यो ।
बन्दिपुर त पुरानो सभ्यता र संस्कृतिको ऐतिहासिक थलो पो रहेछ । सहर प्रवेश गरेपछि थाहा हुन्छ । तर यो सहर कति पुरानो हो भन्ने कुराचाहिँ अनुसन्धानको विषय हो । काठमाडौँ, भक्तपुर र ललितपुरका पुराना घरहरू जस्तै बार्दली निकालेर बनाएका छानेशैलीका ठूल्ठूला भव्य भवनहरू छन् दोहोरै । सिलेट ढुङ्गाले घरका छानाहरू छाइएका छन् । बीचबाटोमा च्याप्टा ढुङ्गा छापेको फराकिलो सुग्घर सडकले झन् सुन्दरता थपेको छ । सहरभित्र सबै प्रकारका वाहनहरूको प्रवेश निषेधले शान्ति र स्वच्छता कायम राखेको छ । पश्चिमबाट प्रवेश गरेर पूर्वतर्फ लाग्दा यस्तो लाग्दछ कि हामी डेढ दुई सय वर्ष पुरानो समयको कुनै नौलो ठाउँमा पुगेका छौँ, भिन्नै दुनियाँमा प्रवेश गरेका छौँ । तर त्यो ठाउँ, त्यो समाज डेढ दुई सय वर्ष पहिलेको भने होइन । त्यो अहिलेकै हो । त्यहाँ एक्काइसौँ शताब्दीले प्रवेश गरिसकेको छ । त्यहाँ यत्रतत्र साइबर क्याफेहरूमा विदेशी पर्यटकहरू व्यस्त रहेका देखिन्छन् । बन्दिपुर अहिले अमेरिकामा कुरा गर्दैछ, युरोपमा समाचार पठाउँदैछ, संसारको जुनसुकै ठाउँमा यसको पहुँच छ । हामी मुख्य बजारको अन्तिम बिन्दुसम्म पुग्दछौँ । त्यहाँबाट चार बाटाहरू चारतिर लाग्दा
रहेछन् । पहिलो तीनधारातिर, दोस्रो डाँडापट्टितिर, तेस्रो खड्गदेवीको मन्दिरतिर र चौथो टुँडिखेलतिर । अब कता जाउँ कता जाउँको अलमलमा ठिङ्ग उभिन्छौँ हामी । सामुन्ने छ बन्दिपुर क्याफे, त्यहाँभित्र होटेल, रेस्टुरेन्ट र लज पनि छ । हामी भित्र पस्छौँ, चियाको आदेश दिन्छौँ र मेचमा बस्छौँ ।
शान्त छ होटेलको वातावरण । फाटफुट विदेशी पर्यटकहरू देखिन्छन् । होटेलको सञ्चालन व्यवस्था पनि स्तरीय लाग्दछ । होटेलका साहुसाहुनी एक जना नेपालीसित गफिइरहेका छन्, सायद स्थानीय स्तरका माओवादी नेता हुन् क्यारे ! गफ अध्यक्ष प्रचण्डको आजको भाषणको बारेमा केन्द्रित छ । तर भाषणको विषयवस्तुविना नै प्रशंसा भइरहेको छ । साहुनी भन्छिन्— “साह्रै राम्रो भन्याँ उहाँको भाषण ! उहाँजस्तो नेता पाउनु हाम्रो सौभाग्य हो ! उहाँ त भगवान् नै हो नि हाम्रा लागि !” साहुनीको भनाइ ध्यानपूर्वक सुनिरहेका हुन्छन् ती नेताजी तर त्यो भनाइप्रति कुनै प्रतिवाद गर्दैनन् । “उहाँ भगवान् होइन, उहाँ त मानव हो, हाम्रो नेता हो” भन्छन् कि जस्तो लागेको थियो मलाई तर उनी केही भन्दैनन् । मेरो मनमा खुल्दुली मचिन्छ— के साहुनीबाट अध्यक्ष प्रचण्डप्रति अगाध श्रद्धा प्रस्फुटन भएको हो ? वा व्यवसाय सञ्चालन सीप हो त्यो चाटुकारिता ? वा उनीभित्रको त्रास बर्बराएको हो ? म केही निक्र्यौल गर्न सक्दिनँ । ती नेतासित हाम्रो पनि परिचय हुन्छ । हाम्रो उपस्थितिप्रति निकै चासो राख्दछन् ।
हाम्रो उद्देश्य घुमफिर मात्र हो भन्दा सबै जिल्ल पर्दछन्, सबैले आश्चर्य
मान्दछन् । नेपालीहरू पनि घुम्न हिँड्छन् र ! भन्ने भाव अव्यक्त रूपमा व्यक्त भइरहेको हुन्छ । आगन्तुकसँग गफिने बानी नै रहेछ साहुनीको ! उनले धेरै कुरा बताइन् हामीलाई बन्दिपुरका बारेमा । कुन ठाउँको के महŒव छ, जानै पर्ने ठाउँ कुन कुन हुन् उनले
बताइन् । उनले भनिन्— “आज सिद्धगुफा जान भ्याइँदैन, छत्रेश्वरीको मन्दिरमा बिहान जाँदा राम्रो हुन्छ ।” एकछिनको गफमा साहुनी त हाम्रो हितैषी सल्लाहकार, गाइड सबै थोक बन्न पुगिन् । साँझ इच्छानुसार भोजनको व्यवस्था हुने कुरा बताइन् । राति सुत्नका लागि कोठा रोज्न भनिन् । हामीले माथि गएर कोठाहरू हे¥यौँ र एक नम्बरको कोठा रोज्यौँ । हामी तल झरेपछि साहुनीले भनिन्— “ल बधाइ छ तपाईंहरूलाई, हिजो अध्यक्ष प्रचण्ड सुत्नु भएको कोठा हो त्यो !” त्यो कोठा रोजेर हामी भी.आई.पी. भएको हो वा त्यो कोठामा बसेर अध्यक्ष प्रचण्ड साधारण भएको भन्न खोजेको हो ? प्रस्ट हुँदैन । होटलको कोठा न हो, जोसुकै पनि बस्न सक्छ । कहिले राजा बस्छ त कहिले रङ्क । तर साहुनीको व्यावसायिक कुशलता भने प्रशंसायोग्य लाग्दछ मलाई !
साहुनीको सल्लाह मुताबिक नै घुम्न निस्कन्छौँ हामी । पहिले खड्गदेवी मन्दिर जान्छौँ । त्यहीँ रहेछ पहिले अड्डा अदालत रहेको ठाउँ । साह्रै उपयुक्त ठाउँ रहेछ त्यो ! त्यहाँबाट बन्दिपुर सहरका सम्पूर्ण घरका छानाहरू यति रमणीय देखिँदा रहेछन् कि अपलक हेरिरहुँजस्तो लागिरहने । केही समयको त्यो रमणीय दृश्यावलोकन पछि हामी टुँडिखेलतिर लाग्दछौँ ।
आहा ! बन्दिपुरको डाँडामा पनि यति भव्य, यति सुन्दर टुँडिखेल ! त्यहाँ पाइला टेक्नेबित्तिकै मस्र्याङ्दी नदीको तटीयबेशीदेखि लिएर अन्नपूर्ण हिमालका चुचुराहरूसम्मका प्राकृतिक छटाको एकै दृष्टिको दर्शनले मन आह्लादित भएर मजुरझैँ नाच्दोरहेछ ! प्राकृतिक सुन्दरताको विशालता र जादुयी मोहनी हेर्ने ठाउँ त बन्दिपुरको टुँडिखेल पो रहेछ ! बन्दिपुर गएर प्रकृतिको त्यो विराट स्वरूप नहेर्नु त काशी गएर गङ्गा नहेर्नु जस्तै रहेछ !
टुँडिखेलबाट उकालो लागेर हामी बन्दिपुर अस्पताल हुँदै सहिद स्मृतिबाटिका पुग्दछौँ । बन्दिपुरले बिर्सेको रहेनछ सहिदहरूलाई ! राणाशाहीको गोलीद्वारा २००७ सालमा सहादत प्राप्त गर्ने तनहुँका ६ जना सहिदहरूको सम्झनामा २०४९ सालमा एउटा सानो सहिद स्मारक पार्क निर्माण गरिएको रहेछ । त्यस रमणीय स्थलमा एकछिन बसेर ती सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछौँ हामी । त्यसबेला सूर्यनारायण बास बस्नका लागि पश्चिमी पहाडभित्र पस्दछन् । हामी पनि वास सम्झँदै बन्दिपुर क्याफेतिर लाग्दछौँ ।
झमक्क साँझ पर्दा पनि हामी बजारमै टहलिरहेका हुन्छाँै । आज बजार यस कारण पनि रमाइलो छ कि नेपाली आगन्तुकहरूको निकै भीडभाड र चल्तीफिर्ती छ । पी.सी.ओ. देखेपछि मलाई घर फोन गर्न मन लाग्छ । भित्र पसेर म फोन गर्छु । बन्दिपुरबाट बोलेको भन्ने थाहा पाएपछि “तीतोसत्यमा देखेको बन्दिपुर हो ?” भनेर छोरी प्रभा फोनमा चिच्याउँछे । साहुजी पनि फोनको पैसा बुझ्नतिर भन्दा हामीबारे जान्न बढी उत्सुक देखिन्छन् । हामी को ? किन ? कसरी
त्यहाँ ? आदि उनका जिज्ञासा हुन्छन् । बन्दिपुर घुम्ने हाम्रो उद्देश्य सुनेपछि उनी खुसी हुन्छन् । उनको नाम रहेछ धपेन्द्र थापा । बन्दिपुरको बारेमा जानकारी गराउन अनुरोध गर्दा उनी भन्छन्— ‘बन्दिपुरलाई नयाँ जीवन मिल्दैछ, पुनर्जागरणको अभियान नै चल्दै छ अहिले ! पुरानो व्यापारिक केन्द्र मात्र होइन, संस्कृति, कला र इतिहासको समेत केन्द्र रहेको बन्दिपुर सदरमुकाम दमौली सरेपछि यहाँका बासिन्दाहरूद्वारा नै परित्यक्त हुन पुग्यो, उजाड हुन पुग्यो । यहाँका बासिन्दाहरू प्रायः सबै व्यापारी भएकाले सदरमुकाम सरेपछि कोही पोखरा, कोही नारायणगढ र कोही काठमाडौँतिर लागे । उतै घरजम, उद्योग व्यापार गरेर उतै स्थापित भए । यहाँका घरहरूमा कसैले घर कुरुवासम्म राखे भने कसैले तालै मारेर
हिँडे । मृत सहरजस्तै बन्यो बन्दिपुर । तर, पछि गएर आफ्नो गाउँ ठाउँप्रतिको मोह जागेर आयो बन्दिपुरेहरूमा । उनीहरूकै प्रयासले मोटरबाटो बन्यो । अहिले बन्दिपुरको चौतर्फी विकास भइरहेको छ, सुधार र संरक्षण भइरहेको छ । बाटोघाटो, पानी, बिजुली, विज्ञान, प्रविधि, शिक्षा, संस्कृति आदि सबै विषयमा प्रगति भइरहेको छ । यी सब कुराहरू बाहिर बस्ने बन्दिपुरेहरूकै प्रयासबाट भइरहेको छ । बन्दिपुर विकास समिति गठन भएको छ काठमाडौँमा । त्यही संस्थाको माध्यमबाट सबै विकास प्रयासहरू भइरहेका छन् । साथै बन्दिपुरमा इको कल्चर टुरिज्म प्रोजेक्ट छ । त्यसले बन्दिपुरको विकास, सुधार र संरक्षणका कामहरू गरिरहेको छ । सबभन्दा खुसीको कुरा के छ भने नेपालको अन्य जुनसुकै ठाउँमा बस्ने वा विदेशमा बस्ने बन्दिपुरेहरूमा आफ्नो पुरानो थातथलोप्रति मोह जागेको छ, आस्था बढेको छ । अहिले कसैले पनि आफ्नो घरजग्गा बेचबिखन गर्न नपाउने सहमति भएर नियमै बनेको छ ।’
‘मिडियाले पनि निकै हाइलाइट गरेको छ नि अहिले बन्दिपुरलाई !” मैले भनेँ । “हो अहिले साहित्य, संस्कृति, विज्ञान, प्रविधि एवं विकास निर्माण सम्बन्धी समीक्षा गोष्ठी कार्यशाला आदि कार्यक्रमहरू पनि यहाँ बन्दिपुरमा आएर गर्ने गरिएको र बन्दिपुर महोत्सव हुने गरेकोले पनि बन्दिपुर निकै चर्चामा आउने गरेको छ । यसले पर्यटनको विकासमा समेत टेवा पु¥याएको छ ।’
धपेन्द्र थापाजीबाट पाएको जानकारी अनुसार आफ्नो वतनप्रति बन्दिपुरेहरूमा जागेको प्रेम र चेतनाको कथा सुनेर भावविह्वल हुन पुग्दछु म । देश र राष्ट्रका लागि यो शुभ सङ्केत हो भन्ने ठान्दछु म । आफ्नो थातथलोप्रतिको मोह त्याग्नाले पनि हामी नेपालीले धेरै दुःख पाएका छौँ । यस विषयमा बन्दिपुरेहरू उदाहरणीय बन्न पुगेका छन् । धपेन्द्र थापाजीकहाँबाट सरासर बासथलो बन्दिपुर क्याफेतिर लाग्दछौँ ।
मुख मात्र मीठो हो कि साहुनीको भन्ने लागेको थियो तर होइन रहेछ, भोजन पनि मीठै रहेछ, घरकै जस्तो मीठो मानेर खाइयो र निद्रादेवीको प्रतीक्षा गर्दै ओछ्यानमा पल्टियौँ । ‘जानपर्छ देवीको दर्शन गर्न, धेरै जनालाई मागेको पु¥याएकी छन् देवीले, पन्ध«ै मिनेटको बाटो त हो नि !” भनेकी थिइन् साहुनीले । हामी बीस मिनेटमा पुग्यौँ । देवीको मन्दिर निर्माण गर्न र यात्रीहरूलाई एकछिन बसेर आराम गर्नका लागि राम्रो व्यवस्था गरिएको रहेछ । छत्रेश्वरी देवीको मन्दिर छतविनाको हुनुपर्ने रहेछ । देवीको दर्शनपश्चात् एकछिन बसेर आराम गर्दा बडो आनन्द आउँछ । बन्दिपुरको धुरी रहेछ छत्रेश्वरीको डाँडो । त्यहाँबाट बन्दिपुरका घरधुरी गन्न सकिँदो रहेछ र टाढाटाढासम्म देख्न सकिँदो रहेछ । म कालीप्रसाद रिजालको गीत सम्झन्छु—
‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्,
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस् !’
त्यही भावनाले प्रेरित भएर म यहाँ आएको छु । तर मेरो इच्छामा कुठाराघात भएको छ । अपहरित हिमाल अहिलेसम्म मुक्त भएको छैन । हिमाल देख्न नपाउनुको पीडा बन्दिपुर पुग्दा जति थियो, त्योभन्दा बढी अहिले बिदाइको बेला भएको छ । ‘अब अलमल नगरौँ, खाना खान घरै जाऊँ !” —छत्रेश्वरीबाट तल झरेपछि ज्वाइँ टङ्कनाथ घिमिरेले भन्नुभयो । हामी फेरि बन्दिपुर क्याफेमा पुग्यौँ, चिया चमेना खायौँ । साहुनीलाई बास र गाँसको हरहिसाब बुझाएर, पहिले साहुनीसित र त्यसपछि बन्दिपुरसित बिदा भएर डुम्रेतिर लाग्यौँ ।









प्रतिक्रिया दिनुहोस्