सुदीप अधिकारी: बर्दिया,२० पुस/ वन्यजन्तु चोरीसिकार नियन्त्रण गर्नका लागि बर्दिया राष्टिय निकुञ्जमा सेनाले अप्रशन महाहन्ट–४ सुरु गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले नेपाली सेनाका विशेष सुरक्षा फौज झिकाएर निकुन्जमा ‘अप्रेशन महाहन्ट –४ शुरु गरेको हो । पुसको दोस्रो सातादेखि यो विशेष अप्रेशन सुरु भएको निकुञ्ज स्रोतले जनायो ।‘अप्रेशन महाहन्ट–४ ’मा सेनाको विशेष इन्टिलिजेन्सको प्रयोग गरिएको छ ।
यो अप्रेशनमा भैरवनाथ गण काठमाण्डौ विषेश सेना र शिवदल गणका ठाकुरद्धाराका सेना र निकुञ्जका कर्मचारी सहभागी रहेको बर्दिया राष्टिय निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । सेनालाई सहयोग गर्न चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका केही युवाहरु पनि सहभागी भएका छन् ।
निकुञ्जको उत्तरी चुरे क्षेत्र र दक्षिणी मध्यवर्तीमा यो अप्रेशन लागू गरिएको छ । चुरे क्षेत्र र मध्यवर्ती क्षेत्र चोरीसिकारकालागि संवेदनशिल क्षेत्र मानिएकाले यहाँ सेनाले अप्रेशन सुरु गरेको बताइएको छ । विभिन्न तरिका अपनाएर वन्यजन्तु अपराध नियन्त्रण गर्ने ‘अप्रेशन महाहन्ट ४’ को लक्ष्य रहेको निकुन्जको भनाई छ ।
निकुञ्जको उत्तरी भेगमा रहेको बबई भ्याली, सुर्खेतसँग सिमा जोडिएको लेखपराजुल, तरंगालगाएतका क्षेत्रमा अप्रेशन टोलीको विशेष निगरानी रहने छ । यसैगरि निकुञ्जको दक्षिणतर्फको भुरिगाउँ क्षेत्र, ढकेला र खाता जैविकमार्गमा अप्रेशन महाहन्टले निगरानी गर्ने छ । अप्रेशन पश्चात दुर्लभ वन्यजन्तुको चोरीसिकार नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा गर्ने निकुञ्जको दाबी छ ।
‘यो अप्रेशनमा सेनाका विशेष किसिमको दस्ता छ । टोलीले सेनाको रणनितिक योजना अनुसार अप्रेशन गर्नेछन्,’ निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक भण्डारीले भने । अप्रेशनका लागि सेनाले निकुञ्जको संवेदनशील क्षेत्रलाई भुरिगाउँ, ढकेला, डल्ला, तरंगा र लेखपराजुलमा क्याम्प खडा गरेको छ । सबै क्याम्पबाट सेनाले गस्ती गरिरहेका छन् । सेनाले अप्रशनमा पट्रोल गस्ती (लामो तथा नियमित गस्ती), स्वीप, एम्बुस, सर्च विधी अपनाउने छ ।
यसका लागि सेनाले पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुंगालगाएतका साधन आवश्यकता अनुसार प्रयोग गर्नेछ । अप्रेशनको सुरुवातदेखि नै निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अवैध क्रियाकलाप नियन्त्रण हुँदै आएको निकुञ्जको भनाई छ । अभियान सुरु भएदेखि नै निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने, माछा मार्ने, पासोमा पारी चित्तललगाएतका वन्यजन्तु मार्ने जस्ता गतिविधि नियन्त्रण भएको अधिकृत भन्डारीले बताए ।
निकुञ्जमा भइरहेको बाघ गणना कार्यलाई पनि यो अप्रेशनले सहयोग पुर्याउने निकुञ्जको भनाई छ । विगतमा बाघ गणनाका लागि राखिएका क्यामेरा चोरी हुने, तोडफेड हुने भएपनि यसपटक यस्ता घटना नदोहरिने निमित्त संरक्षण अधिकृत भण्डारी बताउँछन् । क्यामरा जडान भएका ठाउँमा सेनाले निगरानी गरिरहेको भण्डारीले बताए ।









प्रतिक्रिया दिनुहोस्