मिसन सामाचारदाता कोहलपुर, १४ पुस / दुई पक्षबीच विवाद भइरहेको विषयमा, दुबै पक्षको बहस सुनुवाई विना नै भूमि सुधार कार्यालय बाँकेले मनोमानी ढंगबाट तयार गरेको एउटा फैसला सेवाग्राहीको हात लागेपछि बुधवार कार्यालयमा केही बेर विवाद उत्पन्न भयो ।
मोही र जग्गाधनी विचको विवाद सम्बन्धी अधिकार र निर्णय हेर्दै आएको भूमि सुधार कार्यालयमा कर्मचारीको बद्मासीले फैसला नै बाहिरिएपछि उत्पन्न विवादले काम नै प्रभावित बन्न पुगेको थियो ।
सामान्यतःजग्गामा मोही हुने व्यक्तिले मोही जग्गा छुट्याउनका लागि सहमतिमा मोहीले रकम लिई नामसारी नगरिदिएमा भूमि सुधार कार्यालयमा मोही लगत कट्टा, मोही नामसारी, वा मोही जग्गा बाँडफाँड मुद्दा दायर गर्ने सकिने कानूनी प्राबधान रहेको छ ।
जग्गाधनीले प्रतिउत्तर दर्ता गरेपछि दुबै पक्षको बहस पैरवी सुनेर सवुत प्रमाण अनुसार मुद्दा फैसला गर्ने अधिकार पनि भूमि सुधार कार्यालयलाई छ । तर, नेपालगञ्जको भूमिसुधार कार्यालयमा एउटा घटनामा दुबै पक्षका कानून व्यवसायीले बहस गर्न नपाउँदै मोही पक्षको सेटिंगमा भूमि सुधार अधिकारी प्रेम बहादुर दौल्याल र नायब सुब्बा भिम बहादुर बटालाले फैसला तयार गरेपछि कार्यालयमा विवाद उत्पन्न भयो र त्यसले कर्मचारी भित्र लुकेको कमिशनको सेटिङ छताछुल्ल भयो ।
भूमि सुधार कार्यालय बाँकेमा विचाराधीन अवस्थामा रहेको २०७४ सालको मिसिल नं.१९९८ को मोही हक नामसारी मुद्दामा बहस पैरवी बिना नै कार्यालय प्रमुखले फैसला तयार गरेपछि मोही र कर्मचारीको मिलामतो देखिएको भन्दै जग्गाधनी पक्षले विवाद उत्पन्न गरेका हुन् ।
मुद्दामा बुझ्न आवश्यक रहेको प्रमाण, मोहीको प्रमाण पत्र, २ नं.लगत, भोग चलन प्रमाणित लगायत कागजात विनानै फैसला आएको सन्दर्भमा विवाद उत्पन्न भएपछि स्थिति सामान्य पार्न करिब एक घण्टा समय लाग्यो । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ बस्ने ४४ वर्षिय सहदेव लोधले, सोही स्थान बस्ने सावित्री लम्सालको १०० बर्गमीटर जग्गामा मोही रहेको भन्दै मुद्दा दर्ता गरेका थिए ।
जग्गामा मोही रहेको सन्दर्भ पनि भूमि सुधारका नासु बटालाले जानकारी गराएपछि मोही पक्षले मुद्दा दायर गरेको श्रोतको दावी छ । बटालाले उक्त मुद्दामा मोहीले पेश गरेको प्रमाण पनि जग्गाधनीलाई नदेखाएरै फैसला लेखेर फाइलमा राखिएको फेला परेपछि कर्मचारीको सेटिङ्गको तथ्य बाहिर आएको हो ।
भूमि सुधार अधिकारी प्रेम बहादुर दौल्यालले कानून बमोजिम बाहेक कार्यालयमा अन्य काम नहुने गरेको दावी गरिरहेकै बेला फैसला फेला परेपछि उनले प्रतिक्रिया दिन छाडेका थिए । ५० वर्ष अघि देखि भौतिक संरचना निर्माण रहेको जग्गामा मोहीले जोतभोड गर्दै आएको सन्दर्भलाई प्रमाणित गर्दै भूमि सुधार कार्यालय बाँकेले फैसला तयार गरेको थियो ।
सहदेव लोधले नै नेपालगन्ज –२ बस्ने अलतायान राही माथि पनि मिसिल नं.१९९७ को मोही नामसारी मुद्दा दर्ता गरेका छन् । नेपालगन्ज वडा नं.१ घ कित्ता नं.१४६ को १०१÷४ धुर जग्गा शिव प्रसाद थारुबाट नजीर अहमद हलवाईले २०३६ साल असोज २४ गते खरीद गरेका थिए ।
त्यस बेला देखि नै उक्त जग्गामा भौतिक संरचना निर्माण भएपछि मोही लोधले मुद्दा दायर गरेको तथ्यहरु बाहिर आए । कर्मचारीले मोहीको पक्षधर भएर कार्यालयले काम गरिरहेको दावी गरिरहँदा सेटिङ्गको विषय बाहिर आएको हो । मोही कायम गर्ने हिसाबको फैसला फेला परेपछि भूमि सुधार अधिकारी र कर्मचारी विरुद्ध जग्गाधनी पक्षले अर्को मुद्दाको तयारी गरेको बताएको छ ।
बीच सहरमा रहेको जग्गा र लामो समय देखि भौतिक संरचना निर्माण भइ ब्यापार ब्यवसाय संचालन भइरहेको जग्गालाई कसरी जोतभोग सम्भव छ ? भन्ने प्रश्नमा भूमि सुधार अधिकारी दौल्यालले जवाफ दिन चाहेनन् । यी सबै सवाललाई लिएर नक्कली मोही खडा गरी भू माफियागिरि गरिएको भन्दै सम्बद्धहरुले कानूनी उपचारमा जाने तयारी पनि गरेका छन् ।
मोही भएको ब्यक्तिलाई ५० वर्ष पछि आफु मोही भएको तथ्य कसरी थाहा हुन्छ, भन्ने प्रसंगमा दौल्यालले, व्यक्ति सँग रहेको मोही प्रमाणको आधारमा मोही रहेको
विषय थाहा हुने गरेको बताए । ‘कर्मचारीको कुनै संलग्नता हुँदैन’, उनले भने, ‘भूमि सम्बन्धी ऐन अनुसार नै कार्य सम्पादन हुने गरेको छ ।
प्रकाशित मिति : २०७४ पुस १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्