‘एकिकृत सम्पत्ति कर’ सम्बन्धी तालिम सम्पन्न



भीम रावत /कोहलपुुर १० / कोहलपुर नगरपालिकाको आयोजनामा एकिकृत सम्पत्ति कर सम्बन्धी तालिम कोहलपुरमा आइतबार सम्पन्न भएको छ ।
कोहलपुर नगरकार्यपालिका सदस्यहरु , राजनीतिक दलका प्रतिनिधिहरु , कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु तथा अन्य सरोकारवाला पक्ष समेतको सहभागितामा ‘एकिकृत सम्पत्ति कर’ सम्बन्धी एक दिने तालिम (अभिमूखिकरण) गरिएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले उद्घाटन गरेको सो तालिमको उद्घाटन र तालिम गरी दुईवटा शेसन सञ्चालन भएका थियो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख रावतले यो एकिकृत सम्पत्ति कर लागु गर्नै पर्न भएकाले यस सम्बन्धी जानकारी जनप्रतिनिधिहरुलाई हुनु अत्यन्तै आवश्यक भएकाले तालिममा सक्रिय सहभागी हुन आग्रह गरे । त्यस्तै उप–प्रमुख सन्जु कुमारी चौधरीले नगरपालिकाको आन्तरिक आयश्रोत बढाउन र नगरपालिकालाई आत्मनिर्भर बनाउन एकिकृत सम्पत्ति कर लागाउन आवश्यक रहेको बताइन् । नेकपा एमालेका प्रतिनिधि नरेन्द्र शर्माले कोहलपुर नगरपालिकालाई संवृद्ध र राम्रो बनाउन नीजि क्षेत्रका् लगानीलाई भित्र्याउने वातावरण सृजना गर्नुपर्ने बताउदै नेपालमा रहेको दलाल पूँजीलाई आद्योगिक पूँजीमा रुपान्तरण गर्न सकेको खण्डमा एकातिर यसले रोजगार सृजना गर्ने र अर्को तिर राज्यको आन्तरिक राजश्व समेत बढ्ने धारणा राखे ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि बलराम शर्मा , वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा , पत्रकार भीम रावत , कोहलपुर नगरविकास समितिका अध्यक्ष अबराज खड्का लगायतले एकिकृत सम्पत्ति कर लगाउदा जनतालाई आफूले तिरेको कर कुन प्रयोजनमा खर्च हुन्छ भन्ने बारेमा स्पष्ट पारेर कर तिर्ने वातावरण सृजना गर्ने पर्न धारणा राखेका थिए ।
तालिमको दोस्रो शेसनमा एकिकृत सम्पत्ति कर सम्बन्धी राम्रो अनुभव संगालेका लेखवेशी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत एवं तालिमका प्रमुख प्रशिक्षक राम प्रसाद शर्माले एकिकृत सम्पत्ति कर सम्बन्धी तालिम दिएका थिए ।
शर्माले भने, –‘एकिकृत सम्पत्ति कर भनेको कुनै पनि नागरिकको आफनो स्वामित्वमा रहेको जग्गा र त्यस जग्गामा निर्माण गरिएका संरचनाहरुको एकमुस्ट तिर्ने कर हो । यो कर तिरेपछि उसले घरकर र मालपोत (तिरो) छुट्टै तिर्नु पर्दैन ।’ शर्माले एकिकृत सम्पत्ति कर प्रगतिशील कर पनि भएको बताउदै धेरै मूल्यको सम्पत्ति हुनेले धेरै र थोरै मूल्यको सम्पत्ति हुनेले थोरै कर तिर्ने पर्ने बताए । यो करनीति लागु गर्न करदाताहरुलाई स्वघोषित रुपमा कर तिर्ने वातावरण बनाउन जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै प्रशिक्षक शर्माले त्यसको निम्ति राजनीतिक दलहरु नै सबभन्दा पहिले यो कर तिर्न आवश्यक छ भन्ने कुरा बुझ्न जरुरी रहेको सुझाव दिए ।
नेपालको संविधान २०७२ मा नै वि.स. २०७५ साल साउन १ गते देखि एकिकृत सम्पत्ति कर लगाउनै पर्ने वाध्यकारी व्यवस्था गरिसकेकाले यो कर सम्बन्धी नीति र कार्यविधि बनाउन र नगरपालिकाका सबै वडाहरुमा जनप्रतिनिधिहरुले यस सम्बन्धी वडा वडामा तालिम दिएर करदाताहरुलाई कर तिर्न उत्साहित बनाउनु पर्ने सल्लाह समेत दिए । एकिकृत सम्पत्ति कर संसारका सबै मुलुकमा लागु भइसकेको र नेपालमा पनि धेरै स्थानीय तहमा लागु भइसकेकाले यो कर
कोहलपुर नगरपालिकामा लगाउन ढिला भएको प्रशिक्षक शर्माले जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १० गते सोमबार