रावन बिश्बकर्मा बाँसगढी, ०३ पुस / बाँसगढी नगरपालिकाकाले ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ । १४ औँ महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा आइतबार बाँसगढी नगरपालिकाले आयोजना गरेकोे एक कार्यक्रममा सो सम्मान गरिएको हो ।
“महिला स्वास्थ्य स्वयमसेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा” भन्ने मुल नारा साथ गरिएको कार्यक्रममा नगरपालिका भित्र रहेका १ सय ३ जना स्वास्थ्य स्वयमसेविकाहरु मध्ये उत्कृष्ट काम गरेका ९ जनालाई जनही १ हजार नगद र प्रमाण पत्र सहित सम्मान गरिएको हो । ४ सय जनाका लागि १ जना स्वास्थ्य स्वयमसेविकाले गरेको कामको मुल्यांकन गर्दै ९ जनालाई सम्मान गरिएको छ ।
प्रत्येक वर्ष स्वयमसेविका दिवसको अवसरमा ३ जना स्वास्थ्य स्वयमसेविकालाई गरिने सम्मान यस वर्ष बढाएर ९ जनालाई गरिएको छ । जसमा वडा नम्बर १ बाट दुर्गा बिक, वडा नम्बर २ बाट सपना चौधरी, वार्ड न ३ वाट निलम चौधरी वार्ड न ४ बाट तिलक रानी थारु वार्ड न ५ बाट शारदा चौधरी वार्ड न ६ बाट विन्दु चौधरी वार्ड न ७ बाट हरीकला पाण्डे वार्ड न ८ बाट लिला विक वार्ड न ९ बाट रमा कुमारी थारु रहेका छन ।
दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले बाँसगढी नगरपालिकालाई कुपोषण मुक्त नगरपालिका बनाउने अभियानमा अग्रसर हुन स्वयमसेविकाहरुलार्ई आग्रह गरे । उनले मान्छेको जिवनमा सुधार ल्याउनका लागि अहोरात खटिने स्वयमसेविकाहरुलाई जुन सुकै शब्दले सम्मान गरे पनि कमै हुँने भन्दै स्वास्थ्य संयमसेविकाको कार्य अमुल्य रहेको तर्क गरे । उनले आमा स्वस्थ भए बच्चा स्वस्थ हुन्छ ,अनि मात्र समाज स्वस्थ हुन्छ भन्ने कुरामा जोड दिए । बाँसगढी नगरपालिकाका सुचना अधिकारी शेरबहादुर केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मीले राखेका थिए । जिल्लामा ८ सय ३८ जना महिला स्वास्थ्य संयमसेविकाहरु रहेका छन् । प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कम्तिमा ७ जनालाई सम्मान गरिने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जिल्ला जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल थारुले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्