गुलरिया मंसिर २०, २०७४ / लोकतान्त्रिक र वाम गठबन्धनले आचारसंहिता उल्लंघन गरेको उजुरी निर्वाचन कार्यालयमा परेको छ । मौन अवधिमा बुधबार दुबै गठबन्धनले भोट माग्दै गुलरिया बजारमा घरदैलो अभियान गरेका छन् । शरषचन्द्र तिवारीले वाम गठबन्धनको क्षेत्र नम्बर १ का उम्मेदवार वामदेव गौतमले आचारसंहितको उल्लंघन गरेको भन्दै कारबाहीका लागि निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको बताए ।
यसैगरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सञ्जय गौतमले घरदैलो कार्यक्रमअन्तर्गत मौन अवधिमा भोट मागेको उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश किरण पोखरेलले उजुरी परे पनि भोट मागेको प्रमाण नभएको बताए । ‘फोटोसमेत उजुरीमा पेस भएको छ’ उनले भने,‘भोट मागेको फोटो कहिलेको हो प्रमाणित नभएकोले छानबिन भइरहेको छ ।’
निर्वाचनको तयारी पूरा
यसैबीच बिहीबार हुने मतदानको सबै तयारी पूरा भएको छ । निर्वाचन कार्यालयका अनुसार ३ सय २९ मतदान केन्द्र र १ सय ५३ मतदान स्थलको संरचना तयार भएको निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताए । जिल्लामा कुल २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेका छन् । निर्वाचन सुरक्षा अत्यन्त कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । kantipur









प्रतिक्रिया दिनुहोस्