मतदान केन्द्रमा पुगे कर्मचारी र मतदान सामाग्री



नेपालगञ्ज, १८ मंसिर/  यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधिर प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि बाँकेका प्रत्येक मतदान केन्द्रहरुमा मतदान सामाग्री सहित कर्मचारीहरु सोमबार पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जले जनाएको छ ।

बाँकेमा रहेका १ सय ३६ मतदान स्थल अन्तर्गत ३ सय २७ मतदान केन्द्रहरूमा मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता नामावली, छेकवार, रवरम्याट, मतदाता परिचयपत्र लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत, सुरक्षाकर्मीहरु पठाइ सकिएको क्षेत्रीय निर्वाचन अधिकृत वसन्त अधिकारीले जानकारी दिएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा दुई दिन देखि सुरु गरिएको निर्वाचन सामाग्री हस्तान्तरण कार्य सोमबार साँझसम्म सम्पन्न भएको हो ।

निर्वाचन सामाग्रीका लागि ८ देखि १० जनाको समुहको रोहवरमा निर्वाचन गरिने प्रमुख अधिकारीले बताए । सोमबार राती १२ बजे देखि मौन अवधि लागु भएको उनले बताए । यस्तै १९ र २० गते निर्वाचन अधिकृतहरुले मतदाता परिचयपत्र वितरणको कार्य गरिने निर्वाचन अधिकृत अधिकारले जानकारी दिए ।

क्षेत्रीय निर्वाचन अधिकृत वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले बाँकेमा निर्वाचन बिथोल्न खोज्ने जो कसैलाई पनि पक्राउ गरी कारवाही गरिने बताए ।

निर्वाचनका समयमा कुनै पनि घटना भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली १० मिनेटमा पुग्न सक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी प्रमुख तामाङ्गले बताए । मतदातालाई डर, त्रास बिना आफ्नो मताधिकार प्रयोग गर्न तामाङले आग्रह गरे ।

बाँकेमा खुल्ला नाकालाई मध्य नजर गर्दै औपचारीक नाका बाहेकका सम्पुर्ण अवैध नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भन्सार नाका हुँदै विष्फोटक पदार्थ भित्रिन नदिन भन्सारमा तालिम प्राप्त कुकुर समेत सुरक्षा चेकजाँचमा प्रयोग गरिएको गरिएको प्रहरी प्रमुख तामाङले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १८ गते सोमबार