मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न



कोहलपुर, १७ मंसिर/  बाँकेको कोहलपुरमा शनिबार मतदाता शिक्षा र निर्वाचन बहस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रा कुरा डटकम नामको आनलाइन मिडियाले आयोजना गरेको सो कार्यक्रममा हाम्राकुरा डटकमका सम्पादक अजय कुमार सिवाकोटीले मतदाता शिक्षा सम्बन्धी जानकारी गराउँदै यस पटकको निर्वाचनमा समानुपातिक निर्वाचन तर्फ मत बदर हुने सम्भावना बढी रहेको बारेमा प्रकाश पारेका  थिए ।

खास गरी गठबन्धनका कारण पनि त्यस्तो सम्भावना रहेकाले राजनीतिक दलहरुले विशेष रुपमा मतदाताहरुलाई आफनो मतको सदुपयोग हुने गरी शिक्षा दिन आवश्यक रहेको बारेमा सजक गराएका थिए ।

उम्मेदवारहरुलाई समेत सहभागी गराइएको कार्यक्रममा वाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश्वर गहतराज (अथक) ले आफूहरुले जनताले आफ्ना मन परेका उम्मेदवारहरुलाई दिएको मत बदर नहुने गरी मतदान गर्न सिकाएको दावी गर्दै राजनीतिक दलहरुले सिकाएको मतदाता सम्बन्धी शिक्षा नै बढी प्रभावकारी रहेको पाइएको बताए ।

निर्वाचनमा उम्मेदवारहरुका राजनीतिक मुद्दा र एजेण्डाहरु नै प्रमुख हुने भएकाले त्यस प्रति जनतालाई सचेत बनाउने काम गरिरहेको बताए । त्यस्तै क्षेत्र नं.१ कै लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँगे्रसका माधव राम खत्रीले आफ्नो दलले विशेष स्वयम सेवक टिम नै खटाएर मत बदर नहुने गरी मतदाताहरुलाई आफ्नो मत हाल्न सिकाएका बताउदै आफ्नो राजनीतिक एजेण्डा समेत प्रस्तुत गरेका थिए ।

नेपाली काँगे्रसकै नेतृत्वमा विकास र संवृद्धि हुने कुरामा उसको विशेष जोड थियो । बाँके क्षेत्र नं.१ प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काँगे्रसका नारायण प्रसाद गौडेलले सबै मतदाताहरुले आफ्नो मत बदर नहुने गरी मतदान गर्न सिकाइरहेको बताउदै आफू विजयी हुनेमा ढुक्क रहेको दावी गरे ।

सोही क्षेत्रकी वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी एमाले नेतृ आरती पौडेलले विगतमा कतिपय आँखा नदेख्ने, वृद्ध,हात काप्ने अशक्त मतदाताहरुको मत अरुले हालिदिँदा उनीहरुले रुचाएको उम्मेदवार भन्दा फरक चिन्हमा मत हालिएको गुनासो समेत आएको बताउदै ती अशक्तहरुको मत उनीहरुकै इच्छा अनुसार हाल्ने व्यवस्था गरिनु पर्ने बताइन् ।

कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले गाउँघरमा रहेका अशिक्षित मतदाताहरु बीच मतदाता शिक्षा प्रभावकारी नरहेको देखिएको र मत बदर हुँदा जित्ने उम्मेदवारले पनि हार्ने र हार्ने उम्मेदवारले पनि जित्न अवस्था आएको प्रति सचेत रहदै मतदाता शिक्षालाई प्रभावकारी बनाउने पर्ने सुझाव दिइन् ।

कार्यक्रमा सहभागीहरुले आसन्न मंसिर २१ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मतको सही सदुपयोग हुने गरी सम्पन्न गराउन सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

सो अन्तरक्रिया कार्यक्रमा पत्रकार, स्थानीय ब्यापारी , वुद्धिजीवि,कोहलपुर उद्योग व्याणिज्य संघका प्रतिनिधि राजनीति दलका कार्यकर्ता लगायतको उल्यखनिय उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १७ गते आइतबार