नेपालगञ्ज, ९ मंसिर/ नेपालगञ्ज उपमहानगरपालिकाको प्रथम नगरसभा शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
प्रथम नगरसभामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल सम्शेर राणाले आर्थिक वर्ष ०७४÷०७५ मा रु २ अर्व ७७ करोड ९ लाख १ हजार ५ सय ९६ बराबरको बजेट प्रस्तुत गरेका छन् । चालु खर्चतर्फ रु ५६ अर्व, १ करोड, ७ लाख १९ हजार बजेट रहेको छ ।
पूँजीगत खर्चतर्फ २ अर्व २० करोड, ९१ लाख ८२ हजार ५ सय ९६ रहेको राणाले बताए । नेपालगञ्ज नगरकार्यपालिकाको चालु खर्च रु २ अर्व ६८ करोड ७१ लाख ८ हजार, पूँजीगत खर्चतर्फ रु २ अर्व २० करोड, ९ लाख ४० हजार ७ सय ३४ रहेको छ भने वडा समिति तर्फ पूँजीगत खर्च रु १ अर्व ७७ करोड १० लाख १८ हजार ६२ रहेको छ ।
विषयगत शाखाको चालु खर्चतर्फ रु २ अर्व ८५ करोड १ हजार र पूँजीगत खर्चतर्फ रु १ करोड १ लाख ४० हजार रहेको छ । प्रमुख राणाले नेपालगञ्जको शैक्षिक सुधार तथा स्वास्थ्य सुधार समेत गर्ने बताएका छन् । शिक्षाको स्तरोन्नतिको लागि तथा स्वास्थ्यमा पहुँच बढाउन बजेट पारित गरिएको राणाले बताए ।
यस्तै आ.व.०७४÷०७५ को लागि नेपालगञ्ज उपमहानगरपालिकाको वडागत बजेट सिलिङग समेत गरेको छ ।
वडागत बजेटमा एक देखि २३ वडाकै बजेट पारित गरेको छ । १ देखि २३ वडासम्मको कुल बजेट रु १ अर्व ७७ करोड १० लाख १ हजार ८ सय ६२ रहेको छ । आर्थिक तथा राजश्व वृद्धि कर तिरौं विकासमा सहभागि बनौ बारे समेत नेपालगञ्ज उपमहानगरपालिकाको ध्यान केन्द्रित रहेको प्रतिवेदन डा.राणाले पेश गरेका थिए ।
उपमहानगरपालिकाले धर्म, संस्कृति तथा पर्यटन पुर्वाधार विकास, घरेलु तथा साना उद्योग, वातावरण तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, संस्थागत क्षमता विकास र सुशासन, विपद् व्यवस्थापन, सार्वजनिक सम्पतिको संरक्षण लगायत विभिन्न कार्यबारे नगरपरिषद सम्पन्न गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नगरको विकासका लागि हरप्रयास जारी रहने बताएकी छन् । उनले नगरलाई देशकै नुमनाको रुपमा विकास गरेर लैजाने समेत बताएकी छन् ।
नेपालगञ्ज उप–महानगरपालिकाको प्रथम नगरसभामा नगरकार्यपालिका सदस्यहरुले आफुहरुलाई खबर नभएको भन्दै नगरसभा हलमा प्रवेश गर्न नमानेपछि नेपालगञ्ज उप–महानगरपालिकाको प्रथम नगरसभाको उद्घाटन केही समय प्रभावित भएको थियो ।
विभिन्न वडा सदस्य तथा अध्यक्षहरुले आफुहरुलाई प्रथम नगर सभाको कार्यक्रमको सूचना नभएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । वडा सदस्यहरुले आफुहरु पनि जनप्रतिनिधि भएको तर, मेयर तथा केही वडा अध्यक्षहरुको पेलुवा नीतिको कारण आफुहरुलाई कार्यक्रमको जानकारी नभएको भन्दै प्रवेशद्वारमा राखिएको रजिष्ट्रेशन रजिस्टरमा समेत हस्ताक्षर गर्न मानेका थिएनन ।
उनीहरुको आक्रोशलाई नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले उद्घाटन सत्रलाई समापनपछिको बन्द सत्रमा सबै गुनासा सुन्ने र आगामी दिनमा कार्यान्यवन गर्ने भनेपछि नगर कार्यपालिका सदस्यहरु हलभित्र प्रवेश गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्