कोहलपुर, ७ मंसिर/ साविक उढरापुर गाविस–२ र हाल खजुरा गाउँपालिका–६ मा रहेको खाडसारी प्रा.लि.सहितको जग्गा विक्रि गराउन भूमाफियाहरु सक्रिय रहेका खजुरा गाउँपालिका–६ सिमलघारीका खगेन्द्र शाहीले बताएका छन् ।
विगत २७ वर्ष ८ महिना देखि सोही ठाउँमा बस्दै आएका शाहीले २०४८ सालमा गिजरा खाडसारी प्रा.लि.को नाममा रहेको २ सय विगाह जमिन बाहेक मिलको लागि उखुखेती गर्ने भन्दै सो प्रा.लिका कृष्ण गोपाल टण्डनले चर्चेको ७ नं. प्रति ऐलानीमा बसेका जनता उडाउन खोज्दा ठुलो संघर्ष गरेको बताउछन् ।
त्यहाँको वस्तीमा २०४८ सालसम्म १ सय ८० घरधुरी मात्र रहेका थिए । उनीहरुलाई उठाउन टण्डनले भारतको लखिनपुरबाट ३० जना लठ्ठी चलाउन जान्ने मामिनस ल्याएर २५ जना प्रहरी सहित बस्ती उठाउने प्रयास गरेको शाहीले बताए ।
त्यही संघर्षमा जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा केही दिन बसेका शाहीले मन्त्रीपरिषद्ले निर्णय गरी नापी गराउँदा टण्डनको जग्गा बाहेक ऐलानी प्रतिमा बस्ती बसेको भए नउठाउने र खाडसारी प्रा.लि.र इन्टरजित मिलको जग्गामा बस्ती बसेको भए उठाउने सर्वपक्षिय वार्ताबाट सहमति भई लिखित हस्ताक्षर भएको बताए । पछि नापी गराउँदा आफूहरु बसेको जग्गा टण्डनले चर्चेको प्रति ऐलानी भएको ठहरपछि नउठाएको .तर समय समयमा बस्ती उठाउने प्रयास गरिरहेको शाहीले बताए ।
२०४८ सालको नापी अनुसार १ सय ८० विगाह गिजरा खाडसारी प्रा.लिको नाममा र २० विगाह इन्टरजित मिलको नाममा दर्ता लालपूर्जा रहेको थियो । २०२१ सालमा भूमि सुधार लागू हुनुभन्दा पहिले नै बाबुकाजी भन्ने व्यक्तिले कृष्ण गोपाल टण्डनलाई दिएको २१ विगाह जग्गा थियो ।
२०४८ सालमा नापी गराउदा टण्डन परिवारले ‘बसाह’ भन्ने गोरुको नाममा ४ विगाह र ‘वसन्ती मनोहरा’ भन्ने मन्दिरको नाममा ६ विगाह दर्ता गराएको पाइएको शाहीले बताए । तत्कालिन राजा महेन्द्रले टण्डनलाई उद्योग सञ्चालन गर्नका लागि २ सय विगाह जग्गा खाडसारी प्रा.लि.र इन्टरजित मिलका लागि दर्ता गराउन लगाएका थिए ।
त्यहाँ २०३० सालतिर गिजरा खाडसारी चिनी मिलको कारखाना खोलेर अरु करिब ३ सय विगाह प्रति ऐलानी जग्गा उखुखेती गर्न लगाएको शाहीले बताए । पछि टण्डनले उखुखेती गर्ने जग्गामा मसुरो, अरहर, चना, केराउ लगायतका दालजन्य नगदेवाली लगाउने र त्यसलाई भारत निकासी गर्ने गरे ।
उखुखेती नभएर कारखाना चलेन भन्दै सरकारलाई रु ३ करोड बढी राजस्व नतिरेको र खाडसारी चिनी कारखाना बन्द हुने अवस्थामा रहेको बेला २०४८ सालमा तत्कालिन नेकपा एमालेको पहलमा केही बस्ती बसेको स्थानीय डम्बर बहादुर श्रेष्ठ बताउछन् ।
सरकारले कारखाना खोल्न दिएको र कारखाना बन्द हुँदा टण्डन परिवारले आफ्नो नीजि स्वामित्व झैं गरेको भन्दै २०६१ सालमा शसस्त्र युद्धमा रहेको तत्कालिन माओवादीले गिजरा खाडसारी प्रा.लि.को भवन समेत भत्काएर सबै सामान लिएका थिए ।
माओवादीकै पहलमा गिजरा फारमको जग्गा कब्जा गरि सुकुम्वासी बसाएका थिए । त्यतिखेर करिब ५ सय घरधुरी मात्र रहेको सो स्थानमा हाल करिब ११ सय घरधुरी रहेको स्थानीय तिलक प्रसाद वली बताउँछन् ।
अर्का स्थानीय खगेन्द्र शाहीका अनुसार महेन्द्र राजाले कारखाना सञ्चालनका लागि दर्ता गराउन लगाएको जग्गामा नराखि टण्डनले ऐलानी प्रति जग्गामा कारखाना सञ्चालन गराएका थिए । माओवादीले कब्जा गरि भूमिहिन सुकुम्वासीहरुलाई बसाएपछि टण्डन परिवार सो ठाउँमा आउन छोडेको ४५ वर्षदेखि टण्डनको जग्गा जोत्न, बाली लगाउन र हेरचाह गर्ने काम गर्दै आएका मुराउ परिवारले बताए ।
मान बहादुर मुराउले भने–‘हाम्रा बुवाहरुको पालादेखि टण्डन परिवारको जग्गा लगाउदै आएका हौं, माओवादीले कब्जा गर्नुभन्दा पहिले मालिकहरु बाली उठाउन आउथे, त्यसपछि उनीहरु आउदैनन्, उनीहरुको नाममा रहेको जग्गाको आयस्था बुझाउँदै आएका छौं ।’
कृृष्ण गोपाल टण्डनको केहि वर्षअघि मात्र मृत्यू भइसकेको र उनको नाममा रहेको २८ विगाह, गोरुको नाममा रहेको ४ विगाह र मन्दिरको नाममा रहेको ६ विगाह जग्गा दलाल मार्फत विक्रि भइसकेको र त्यही मध्येको २ विगाह जग्गा दलाल मार्फत २ महिनाअघि मात्र किनवेच भएको स्थानीय सब्बीर तेलीले त्यही २ विगाहमध्ये आफूले ८ कठ्ठा जग्गा किनेको बताए ।
नेपागञ्ज–गुलरिया सडकको मानखोलासम्म फैलिएको ५ सय २२ विगाह १ कठ्ठा जमिन ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी ४ प्लटमा कायम रहेको छ । भूमाफियाहरुले गिजरा खाडसारी प्रा.लि.र इन्टरजित मिलको नाममा रहेको २ सय विगाह जग्गा विक्रि गराउन नेपालगञ्ज देखि काठमाण्डौं सम्मको सञ्जाल बनाएका र केही महिना अघिमात्र वडा पालिका कार्यालयमा ४ किल्ला प्रमाणितका लागि दलालहरु पुगेको कुरा सुनेको स्थानीय खगेन्द्र शाहीले बताए ।
कारखाना सञ्चालनका लागि प्रा.लि.को नाममा टण्डन परिवारलाई दिइएको जग्गा सरकारी जग्गा नै भएको र सो जग्गा सरकारी स्वामित्वमा कायम हुने आधारहरु रहेको स्थानीय खगेन्द्र शाही बताउँछन् । यतिबेला भूमाफियाहरु प्रशासक देखि बंैकसम्मलाई ठुलो कमिशन खुवाएर भएपनि सो जग्गा विक्रि गर्ने वा धितो राखि ठुलो रकम निकाल्न लागिपरेको श्रोतले जनाएको छ ।
हाल तिनै भूमाफियाहरु कानूनी प्रक्रिया पु¥याई गोप्य रुपमा किनबेच गर्ने वा त्यो सम्भव नभएमा सो जग्गा बैंकमा धितो राखेर ५० देखि ६० करोड सम्मको मूल्याङकन गराई ऋण निकाल्ने योजनामा लोगेको विस्वस्त श्रोतले जनाएको छ । सो श्रोतका अनुसार प्रभु बैंकमा यसको प्रक्रिया चलिरहेको र सबैको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपि यही बेला कारोबार गरिसक्ने प्रक्रियामा छन् ।
उता गिजरा फारमको जग्गामा बसेका स्थानीयहरु सो जग्गा कुनै पनि अवस्थामा नछोड्ने बताउछन् । स्थानीय डम्बर श्रेष्ठले भने–‘यो कसैको नीजि स्वामित्वको जग्गा होइन, यहाँ हामी सुकुम्वासीहरुलार्ई कसले उठाउने रहेछ हेरांैला ।’
‘स्थानीय निर्वाचनमा चुनाव जितेपछि तपाइहरुलाई यही जग्गाको लालपूर्जा दिन्छौ भनेका थिए, फेरि अर्को चुनाव आयो अब लालपूर्जा कहिले दिन्छन् ? वा आश्वासन मात्र हो त्यो पनि थाहा होला ।’ स्थानीय तिलक प्रसाद वलीले बताए ।









प्रतिक्रिया दिनुहोस्