कविन्द्र परियार: कोहलपुर, २४ कात्तिक/ बैजनाथ गाँउपालिका–८ मा रहेको टिटिहिरिया बाल क्लब सञ्जालले देउसी भैलोमा संकलन गरेको रकम असाहय तथा अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गरेको छ । सञ्जालले बिहिबार एक कार्यक्रमको आयोजना गरी २५ जना असहाय तथा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
शैक्षिक सामाग्रीको अभावमा पढ्न कठिनाई भइरहेका बालबालिकाहरुलाई करिब रु २८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको बैजनाथ बाल क्लब सञ्जालका अध्यक्ष खगेन्द्र बुढाले बताए । अभिभावक विहिन बालबालिकाहरुलाई वितरण गरिएको सो शैक्षिक सामाग्री साविकको टिटिहिरीया गाविसभित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले जनप्रतिनिधि आइसकेपछि जनप्रतिनिधि र राज्यले गर्नुपर्ने काम बाल क्लब सञ्जालले गरेर उदाहरणीय काम गरेको बताइन् । त्यस्तै बैजनाथ गाउँपालिका–८ का अध्यक्ष भग्गन थारुले असहाय तथा अनाथ बालबालिकालाई वडाको अन्य कोषबाट भएपनि सहयोग उपलब्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा बैजनाथ गाउँपालिकाले ३५ दिनभित्र जन्मदर्ता गराउने र नियमित स्वास्थ्य परीक्षण गराउने सुत्केरीहरुलाई सुत्केरी प्रोत्साहन रकम समेत वितरण गरिएको थियो । कार्यक्रम वडा नं.८ को वडा कार्यालयको समन्वयमा गरिएको थियो भने टिटिहिरीया बाल क्लब सञ्जालका अध्यक्ष टिकाराम थारुको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७४ कात्तिक २४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्