यु–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै



काठमाडौं, २१ कात्तिक/  एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली युवा टोली मंगलबार (आज) राति मलेसिया प्रस्थान गर्दैछ ।

आगामी कात्तिक २५ गतदेखि सुरु हुने प्रतियोगितामा नेपाल रहेको समूहमा भारत, बंगलादेश र आयोजक मलेसिया पनि रहेका छन् ।

एसिया कपको तयारीका लागि बंगलादेश गएको नेपाली टोली सोमबार रातिमात्रै नेपाल फर्किएको थियो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा घरेलु टोलीसँग तीनओटा अभ्यास खेल खेल्नेक्रममा सुरुआती दुई खेलमा पराजय भोग्दा अन्तिम खेल जितेको थियो ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आगामी कात्तिक २५ गते बंगलादेशसँग खेल्दा २६ गते भारतसँग र समूहको अन्तिम खेल कात्तिक २८ गते आयोजक मलेसियासँग खेल्नेछ ।

प्रतियोगिताको अर्को समूहमा पाकिस्तान, श्रीलंका र अफगानिस्तान रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २१ गते मंगलबार