बाँके, १७ कात्तिक/ आउँदो मंसिर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा चुनावका लागि बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी परेको छ ।
बिहीबार भएको उम्मेदवारी मनोनयनमा बरिष्ठ पत्रकार शिव डोटेल र डा. बिनोद कर्णले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउनुभएको छ । डोटेलले प्रतिनिधिसभामा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी पत्रकार वीरेन्द्रप्रकाश पुनले नयाँ शक्ति पार्टीबाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्का पत्रकार आशिष गुप्ता क्षेत्र नम्बर २ को प्रदेश १ बाट राजपाका तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
यसैगरी डा. कर्णले विवेकशिल साझा पार्टीबाट बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट उम्मेदवारी दिनुभएको छ । नेपाली एक्सप्रेस दैनिकका सम्पादक डोटेल प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद हुनुहुन्छ । पुन नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद र प्लाष्टिक सर्जन डा. कर्ण नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक हुनुहुन्छ ।
वाम र लोकतान्त्रिकमा बागी
बाँकेमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरी दुबै तर्फ वागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा कांग्रेसका माधवराम खत्री उम्मेदवार हुनुहुन्छ ।
यसैगरी नेकपा माओवादीका आधिकारिक उम्मेदवार महेश्वर जंग गहतराजको बिरोधमा नेता सबिर खाँ, सुरेशकुमार चौधरीले वागी उम्मेदवारी दिनुभएको छ ।
यसैगरी क्षेत्र नम्बर १ को प्रदेश १ मा माओवादी केन्द्रका कृष्ण केसीको बिरोधमा माओवादीका अमर खड्का र दुर्गाप्रसाद चौधरीले बागी उम्मेदवारी दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाले २०४८ देखि २०७० सम्म प्रतिष्पर्धा गर्दै आएको बाँके क्षेत्र नम्बर २ मा यसपटक कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गरेको छ । यहाँ कांग्रेसका धु्रब दाहालले बागी उम्मेदवारी दिनुभएको छ ।
यसैगरी नेकपा एमालेका पशुपति दयाल मिश्राको बिरोधमा एमाले निकट प्रेस चौतारीका पूर्व उपाध्यक्ष शिब डोटेलले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर २ मा माओवादीका मुगबहादुर शाहले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । क्षेत्र नम्बर २ को प्रदेश १ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवार हुनुभएका विजयबहादुर यादवकी पत्नी सरोजकुमारी यादव पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । अन्यले बागी उम्मेदवारी दिए पनि यादवले भने चुनावमा सेवा सुविधाका लागि पत्नीलाई स्वतन्त्र उम्मेदवार बनाएको चर्चा छ ।
क्षेत्र नम्बर ३ ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका बाबुराम गौतमको बिरोधमा माओवादी केन्द्रका विजय पाठकको बागी उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस्