बर्दियामा उत्साहपूर्वक मनोनयन दर्ता



सुदीप अधिकारी : बर्दिया, १७ कात्तिक/  आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि बर्दियामा बिहिबार उत्साहजनक रुपमा उम्मेदवार मनोनयन दर्ता भएको छ । नेकपा एमाले, माओवादी केन्द्रको बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले बाजागाजासिहत नाराबाजी गर्दै  मुख्य निर्वाचन कार्यालय पुगि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवार मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरिएको थियो । शुरुको समयमा साना दलहरुले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यालयले नेपाली काँग्रेसका लागि साढे १२ बजे र वाम गठबन्धनका लागि साढे एक बजे मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।
नेपाली काँग्रेसका क्षेत्र नं.१ प्रतिनिधिसभाका उम्मेदवार सञ्जय गौतम सदरमुकाम आइपुग्न ढिलो भएपछि दिउँसो २ बजे वाम गठबन्धनका उम्मेदवार बाजागाजासहित मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमसहित उम्मेदवारको टोलीले नगर परिक्रमा गर्दै मनोनयन स्थल पुगेका थिए । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि क्षेत्र नं.१ बाट नेकपा एमालेका वामदेव गौतम र क्षेत्र नं.२ माओवादी केन्द्रको तर्फबाट विना विभागिय मन्त्री सन्तकुमार थारुले मनोनयन दर्ता गराएका हुन् । यसैगरी प्रदेशसभाका लागि वाम गठबन्धनबाट क्षेत्र नं.१ ‘क’ मा कबिराम थारु र ‘ख’ मा तिलक शर्मा हिमालले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं.२ को ‘क’ मा प्रदेश सभाका लागि वाम गठबन्धनबाट कुलप्रसाद पोख्रेल र ‘ख’ बाट दिपेश थारुले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन पछि प्रतिक्रिया दिँदै वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि क्षेत्र नं.१ बाट नेकपा एमालेका वामदेव गौतमले वाम गठबन्धनको जीत सुनिश्चित भएको दावी गरे । जिल्लाको सामाजिक तथा आर्थिक विकासका लागि आपूm पुनः बर्दियाबाट चुनाव लडेको गौतमले बताए ।
यसैगरी लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि क्षेत्र नं.१बाट नेपाली कांग्रेसका जिल्ला सभापति तथा वर्तमान सिँचाई मन्त्री सञ्जय गौतम र क्षेत्र नं.२ बाट वर्तमान भूमीसुधार मन्त्री गोपाल दहितले मनोनयन दर्ता गराएका हुन् । लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभाका लागि क्षेत्र नं.१ ‘क’ बाट सोदे बिष्ट, ‘ख’ बाट मंगल थारुले मनोनयन दर्ता गराएका हुन् । यसैगरी क्षेत्र नं.२ ‘क’ बाट रामचन्द्र थापा र ‘ख’ बाट नाचुराम थारुले मनोनयन दर्ता गराएका हुन् । प्रदेश र प्रतिनिधिसभाका लागि बर्दियामा नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चाले पनि मनोनयन दर्ता गराएका छन् ।
मनोनयन पत्र दर्ता गर्ने क्रममा मतदाता र उम्मेदवार सबै निकै उत्साहित देखिएका थिए । वाजागाजा र र्यालीसहित मनोनयन दर्ता गरेसँगै निकै उत्साह थपिएको उम्मेदवारहरुले प्रतिक्रिया दिएका छन् । दलका उम्मेदवारहरु फुलमाला, खादासहित अबिर दलेर मनोनयन स्थल पुगेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १७ गते शुक्रबार