बर्दिया,१३ मंसिर/ यहि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बेला चोरशिकारीले बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्नसक्ने भन्दै निकुञ्ज, नेपाली सेना र संरक्षण अभियानमा लागेका युवाहरु उच्च सर्तकर्ताका साथ परिचालन हुने भएका छन् ।
चुनावमा चोर शिकारीले मौका छोपी वन्यजन्तुको चोरी शिकार गर्न नसकुन भन्दै निकुञ्ज र सेना उच्च सुरक्षमा खटिएको शिव दल गणका गणपति टेकबहादुर चन्दले जानकारी दिनुभयो ।
चुवाव नजिकिएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणले वन, वन्यजन्तु सुरक्षाका लागि बर्दिया निकुञ्ज भित्र, बबई उपत्यका र मध्यवर्ति क्षेत्र आसपासका सामुदायिक वनमा सुरक्षा व्यवस्था कडा पारीएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।
चुनावका बेला चोरी शिकार हुनसक्ने भन्दै निकुञ्जले स्पेशल टास्क फोर्स निमार्ण गरी निकुञ्ज र सेनाको संयुक्त टोलीले दैनिक रुपमा दिउँसो र राति गरी निकुञ्ज र मध्यवर्ति क्षेत्रका सामुदायिक वनमा सात पटक गस्ती गरीरहेको उहाँले बताउनुभयो । निकुञ्ज सुरक्षार्थ खटिएका सेनालाई पनि चुनाव सुरक्षाका लागि मध्यवर्ति क्षेत्र आसपासका मतदान स्थलमा खटाईएकाले पनि चुनावसँगै वन्यजन्तु सुरक्षामा समेत टेवा पुगेको निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।
नेपाली सेनाले बर्दिया निकुञ्ज भित्र ३१ वटा सेनाको पोष्ट निर्माण गरी सुरक्षा दिइरहेको र चुनावका बेला उच्च सर्तकर्ता अपनाई निकुञ्ज र मध्यवर्ति क्षेत्रमा थप सुरक्षा बढाइएको शिव दल गणका गणपति टेकबहादुर चन्दले बताउनुभयो ।
यसअघि गैँडा स्थान्तरणको मौका छोपी चितवनमा चोर शिकारीद्धारा गैँडा मारिनु, २०६४ सालको पहिलो संविधानसभा चुनावमा बर्दिया निकुञ्जमा चोर शिकारीद्धारा गैँडा मारिनु र द्वन्द्वकालमा निकुञ्जको बबई उपत्यकामा ६० गैँडा मारेको उदाहरण दिँदै यसपटक चुनावमा कुनै पनि वन्यजन्तुको नोक्सानी हुन नदिन निकुञ्ज र मध्यवर्ति क्षेत्रमा स्पेशल सुरक्षा व्यवस्था गरेको निकुञ्जले जनाएको छ ।
-Ujyaaloonline








प्रतिक्रिया दिनुहोस्