20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जर्मनी र इंग्ल्याण्ड विश्वकपका लागि छनौट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौं, असोज २० । साविक विजेता जर्मनीसँगै इंग्ल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट भएका छन् ।

गएराति भएको छनौट खेलमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन सेबास्टियन रुडी, सान्द्रो वाग्नर र जोसुवा किमिचले एक–एक गोल गरे ।

गएराति भएको अर्को खेलमा स्लोभेनियालाई १–० ले हराँउदै इंग्ल्याण्डले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ईन्जुरी समयमा निर्णायक गोल गर्दै टोलीको रुस यात्रा पक्का गरे ।

विश्वकप छनौट अन्तर्गत गएराति भएका अन्य खेलहरुमा चेक गणतन्त्रले अजरबैजानलाई २–१ ले हराँउदा नर्वेले सान मारिनोमाथि ८–० को जित निकाल्यो ।

यसैगरी पोल्याण्डले अर्मेनियालाई ६–१ ले, रोमानियाले काजखस्तानलाई ३–१ ले तथा डेनमार्कले मोन्टेनेग्रोलाई १–० ले हराए ।

स्कटल्याण्डले स्लोभाकियालाई १–० ले हराँउदा माल्टा र लिथुआनियाले १–१ गोलको बराबरी खेले ।

उता एसियाली समुहबाट सिरियाले विश्वकप फुटबलमा छनौट हुने सम्भावना जीवित राखेको छ । गएराति भएको पहिलो लेगको प्ले अफ् खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेल्दै हिंसाग्रस्त मुलुक सिरियाले विश्वकपमा छनौट हुने सम्भावना जीवित राखेको हो ।

दोस्रो लेगको खेल अष्ट्रेलियामा हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     9:53:18 AM  |