16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

ओमेगा नगरकप फुटबल प्रतियोगिता हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४  

कविन्द्र परियार

कोहलपुर, २५ भदौ ।

तेस्रो संविधान दिवस तथा विजया दशमीको अवसरमा आगामी असोज तीन गतेदेखि ओमेगा प्रथम नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । ओमेगा नेपाल हवलदारपुरको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा १५ देखि २० टिमको सहभागिता हुने सल्लाहकार पूर्ण आचार्यले जानकारी दिए ।

‘अहिले टिम दर्ता प्रक्रिया सुरु गरेका छौं,’ उनले भने, ‘नगरपालिका र आसपासका क्षेत्रका १५ देखि २० टिमको सहभागिता रहने अनुमान गरेका छौं ।’ ओमेगा नेपालका संयोजक दिपक वलीले समाजलाई खेलप्रेमी बनाउने उद्देश्यका साथ पहिलो पटकद ओमेगा नेपालले प्रथम ओमेगाकप फुटबल प्रतियोगिता आयोजना गरेको बताए ।

नेपालगञ्ज एजुकेशन फाउनडेशन कोहलपुर–८ पिपीरीको खेल मैदानमा हुन लागेको प्रथम नगरकपको प्रथम हुने टिमलाई ट्रफीसहित नगद ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै, दोस्रोलाई २५हजार र तेस्रो हुने टिमलाई पाँचहजार रुपैयाँ पुरस्कार दिने आयोजकले जानकारी दिएको छ । खेल बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन हुनेछ । टिम दर्ताको लागि सहभागी खेलाडीको नागरिकताको फोटोकपी पेस गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावलले उद्घाटन गर्ने ओमेगाले बताएको छ । प्रतियोगिताको अन्त्यमा खेल सञ्चालनका लागि सहयोग गर्ने सबैलाई सम्मान गरिने समेत आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     10:39:42 AM  |