25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बबईमा आएको बाढीको कारण १८ कृष्णसार बगे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४  

सुदीप अधिकारी, बर्दिया, ०७  भदौ / साउन २९ र ३० गते बबई नदीमा आएको भिषण बाढीले कृष्णसार संरक्षित क्षेत्रमा रहको १८ वटा कृष्णसार बगाएको छ ।  बाढीमा बगेका मध्ये ३ वटा कृष्णसार मृत फेल परेका छन् । बाँकी १५ वटा फेला परेका छैनन् । बाढीले बगाएर भारततर्फ लगेको अनुमान गरिएको छ । बाढीमा फसेका ३ वटा कृष्णसारलाई उद्धार गरिएको थियो । उद्धार गरिएको मध्ये एउटाको मृत्यु भएको छ । भने २ वटा कृष्णसार सकुशल छन् ।
बाढीमा बगेका कृष्णसार बयस्क वा बच्चा के हुन् अझै एकिन नभएपनि अधिकाशं बच्चा नै रहको अनुमान गरिएको छ ।
कृष्णसार क्षेत्रमा बाढी पसेको बखत त्यहाँ वयस्क र बच्चा गरि जम्मा २ सय ४९ कृष्णसार रहेका थिए । अहिले कृष्णसार क्षेत्रमा २ सय ३१ कृष्णसार रहेको सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । सहायक संरक्षण अधिकृत शर्माका अनुसार बबईको बाढीले कृष्णसार क्षेत्र जलमग्न थियो । बाढीका बखत कृष्णसार क्षेत्रमा करिव ४ फिटसम्म पानी भरिएको थियो । नेपालमा लोपउन्मुख वन्यजन्तुको रुपमा मानिने कृष्णसारको मुख्य बासस्थान बर्दिया मानिन्छ ।
कृष्णसार नेपालबाट लोप हुन थालेपछि यसलाई वन्यजन्तु ऐन २०२९ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । कृष्णसार क्षेत्र वर्षेनी बाढीको जोखिममा पर्ने गरेको छ ।
०७१ सालमा बबई नदीमा आएको बाढी कृष्णसार क्षेत्रमा पस्दा ४० वटा कृष्णसार बगेका थिए । कृष्णसारलाई बाढीबाट जोगाउन संरक्षण क्षेत्र भित्र ५ वटा उच्च स्थान बनाइएपनि जोखिम हटन सकेको छैन । बाढीबाट जोगाउन बनाइएको उच्च स्थानमा यसपटक करिव १ एक फिट उचाईसम्म पानी भरिएको सहायक संरक्षण अधिकृत शर्माले बताए ।
शर्माका अनुसार वयस्क कृष्णसारहरु उच्च स्थानमै गएर जोगिएका थिए । बाढीको संकेत पाउनासाथ कृष्णसारलाई उच्च स्थानमा लगिएको उनले बताए ।
‘बाढीको संकेत पाउँने वित्तिकै सकेजती कृष्णसारलाई धपाएर उच्च स्थानमा पु¥यायौ । पानीको सतह बढ्दै गएपछि सबैलाई बचाउन सकिएन,’ सहायक संरक्षण अधिकृत शर्माले भने ।
कृष्णसार संरक्षित क्षेत्रमा उच्च स्थान निमार्ण नगरिएको भए ठूलो क्षती हुने उनले बताए । उच्च स्थानमा समेत बाढी पसेको हुँदा यसको उचाई अझै बढाउनु पर्ने शर्माको भनाई छ ।
सदरमुकाम गुलरियादेखि करिव ७ किलोमिटर पश्चिम उत्तर खैरापुर क्षेत्र कृष्णसारको मुख्य बासस्थान हो । कृष्णसारको संरक्षणका लागी उक्त
क्षेत्रलाई मन्त्री परिषदको निर्णयबाट २०६५ पुसमा कृष्णसार संरक्षण क्षेत्रको रुपमा घोषणा गरिएको थियो । यसको क्षेत्रफल करिव ७ सय ८ बिघा रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४     10:51:24 AM  |