26 July 2021  |   सोमवार, साउन ११, २०७८

भरतपुर महानगरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

जेष्ठ १७, २०७४-  चितवनको भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको भन्दै बुधबार बसेको संसद् बैठक एमालेले चल्न नदिएको हो । बैठक सुरु भएको सभामुख ओनसरी घर्तीको घोषणा गर्दै एमाले सांसद्हरु आ-आफ्ना ठाउँमा उभिएका थिए । त्यसपछि सभामुख घर्ती एमाले सांसद सुरेन्द्र पाण्डेलाई बोल्न समय दिइन् । सांसद् पाण्डेले पराजित मानसिकताका कारण माओवादीले चितवन भरतपुरमा मतगणना प्रभावित पारेको भन्दै तत्काल सुरु गर्न माग गरे । मत गणना पुन: सञ्चालन नगरी मतदान गर्ने निर्णय गरिए आफ्नो पार्टीले कुनै हालतमा स्वीकार नगर्ने उनले चेतावनी दिए ।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार अपराह्न बसेको एमाले संसदीय दलको बैठकले औपचारिक प्रस्ताव नै पारित गरी भरतपुरको मतगणना तत्काल सुरु गर्न माग गरेको थियो । गणना सुरु नगरिए संसद्‍मा अवरोध गरेर दबाब दिने एमालेले निर्णय गरेको थियो । पार्टी अध्यक्ष केपी ओली नेतृत्वमा दलका प्रमुख नेताहरू संलग्न प्रतिनिधिमण्डलले मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका थिए ।

भरतपुर १९ को मतगणना हुन नदिएर पुन: मतदानमा लैजाने सत्तापक्षको रणनीतिलाई ‘लोकतान्त्रिक मूल्यमान्यता र निर्वाचन पद्धति माथिको गम्भीर प्रहार’का रूपमा लिँदै एमालेले सत्तापक्षलाई संसदबाटै दबाब दिने रणनीति बनाएको हो । एमालेले भरतपुरमा पुन: मतदान गर्ने निर्णय भए आफूहरूलाई मान्य नहुने चेतावनी दिएको छ ।

एमालेले मतगणना निरन्तरता दिनुपर्ने माग गरिरहेको छ भने कांग्रेस-माओवादी केन्द्रले भरतपुरको १९ वडामा पुन: मतदान हुनुपर्ने माग गरेका छन् ।

दुईपक्षीय विवादका कारण मतपत्र च्यातिएपछि आइतबार रातिदेखि भरतपुर महानगरमा मतगणना रोकिएको छ । जहाँ कांग्रेस-माओवादी गठबन्धनबाट मेयरमा रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली प्रतिस्पर्धामा छन् ।

विपक्षीको अवरोधका कारण संसद् बैठक बिहीबार १ बजेसम्मका लागि स्गगित भएको छ ।                                                                      -ekantipur

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     12:55:49 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *