23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

‘निर्वाचनमा बालबालिका प्रयोग गर्दैनौं’ ः दल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४  

कोहलपुर, १५ जेष्ठ   / कोहलपुरस्थित राजनैतिक दलहरुले निर्वाचनका बेला बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार कोहलपुरमा भएको एक कार्यक्रममा निर्वाचनको प्रचारप्रसार लगायतका कुनै पनि कार्यमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रेस चौतारी नेपाल बाँकेको आयोजनामा भएको राजनैतिक दलसँगको अन्तरक्रियामा जारी प्रतिवद्धता पत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
साझा प्रतिवद्धता पत्रमा विद्यालय परिसरभित्र कुनै पनि राजनैतिक सभा, जुलुस, बैठक, माईकिङ्ग लगायतका कार्यहरु नगर्ने÷नगराउने, बालबालिकालाई निर्वाचन प्रचारप्रसार, जुलुस, सभा सम्मेलनमा प्रयोग नगर्ने÷नगराउने, निर्वाचन सम्बन्धी कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग नगर्ने÷नगराउने लगायतका ५ बुँदे प्रतिवद्धताहरु समेटिएका छन् ।
क्षेत्रिय निर्वाचन कार्यालय नेपालगञ्जका निर्वाचन अधिकृत बसन्तराज अधिकारीले चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । निर्वाचनका क्रममा बालबालिका प्रयोग भएको पाइएमा विभिन्न चरणमा कारबाही हुने उनको भनाई छ । उनले निर्वाचन आचारसंहिताका विषयमा जानकारी दिएका थिए ।
बाँकेका महिला विकास अधिकृत सुनिता केसीले निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमनका लागि अनुगमन समिति गठन गरेको बताइन् । त्यस्तै प्रत्येक स्थानीय तहमा सम्पर्क व्यक्तिहरु समेत तोकिएको उनको भनाई छ ।
कार्यक्रममा कोहलपुर नगरस्तरीय बाल सञ्जाल अध्यक्ष प्रदिप प्रसाद आचार्यले निर्वाचनका बेलामा बालबालिका अत्यधिक प्रयोग हुने गरेको
बताए । निर्वाचनका बेलामा प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाई छ ।
यस्तै क्रियाशिल पत्रकार समूह कोहलपुर अध्यक्ष निर्मल आचार्यले विद्यालयमा गएर स्वयं विद्यार्थीहरुलाई नै निर्वाचनका बारेमा जानकारी दिनुपर्ने धारणा राखे । उनले भने ‘कतिपय अवस्थामा बालबालिका रहरमै जाने हुँदा त्यसलाई रोक्न स्वयं बालबालिकाहरुलाई नै यसबारेमा जानकारी दिनुपर्छ ।’
प्रेस चौतारी बाँके अध्यक्ष हेमन्त बिकको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव कमल डाँगीले गरेका
थिए । अन्तरक्रिया कार्यक्रममा प्राविधिक सहयोग इन्रुडेक बाँकेले गरेको थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     11:59:36 AM  |