4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

बघौडाः सुगम जिल्लाको दुर्गम ठाउँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४  

कोहलपुर, २३ बैशाख / सुगम जिल्लाको दुर्गम ठाउँ भनेर चिनिन्छ बाँकेको बघौडा क्षेत्र । राप्ती नदिले सीमाना बनाएको बघौडा क्षेत्रमा सरकारको उपस्थितिको कुनै आभाष हुँदैन । राप्ती नदिपारिका गाउँ बर्षायाम लाग्दा बित्तिकै सदरमुकाम नेपालगन्जसंग सम्बन्ध बिच्छेद हुन पुग्छन् ।
बाँकेको कम्दी स्थित सिधनिया घाटको पुल तरे लगत्तै शूरु हुन्छन् बघौडाका पीडा र बेदनाहरु । बाँकेको सदरमुकाम नेपालगन्ज देखि ४० किलोमिटरको दुरीमा रहेको बघौडाका जनता जो रोग र भोकसंग संघर्ष गरिरहेका हुन्छन् ।
राप्ती नदिको सिधनिया घाटको पुल तरेपछि निकै कठिन यात्रासँगै प्रवेश भइन्छ बघौडा । राप्ती पारिका बैजापुर, बिनौना, फत्तेपुर, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर र गंगापुर जो राज्यका सेवा र सुविधाबाट बञ्चित छन् । जहाँ बिजुलीका पोल गाडिएका छन् तर बिजुलीको तार छैन । सडक खनिएका छन् तर गाडी चल्दैन । यस्तै पिर र ब्याथाले रुमलिएको छ बघौडा ।
यहाँका जनता सरकारको शिक्षा, स्वास्थ्य र रोजगारबाट बञ्चित छन् । भारतीय सीमा क्षेत्रसँग नजिक भएकोले कतिपय गाविसहरुमा नेपाली रुपंैया समेत चल्दैनन बघौडामा । राप्तीपारीको नरैनापुर, लक्षमणपुर लगाएतका गाबिसमा सामान्य घरयासी सामानहरु समेत भारतीय रुपैयाँमै किनबेच गर्नुपर्ने बाध्यता छ । जहाँका जनताले नेपाल सरकार आफ्नो साथमा रहेको कहिल्यै महसुस गर्न सकेका छैनन ।
आगलागी र बाढीबाट बघौडाबासीहरु श्रापित छन् भन्दा फरक नपर्ला । बैशाख महिना लाग्दा बित्तिकै बघौडाका कैयौंं घरहरु खरानीमा परिणत हुन्छन् । र, भएका पनि छन् । बाढी र आगलागीबाट कतिले ज्यान समेत गुमाएका छन् ।
बर्खायाममा राप्ती नदिले घरबार बगाइदिन्छ, खेतियोग्य जमिन बगरमा परिणत बनाइदिन्छ । यिनै पीडा र दुखका साथ बितिरहेको हुन्छ, बघौडाबासीको जीवनी । शिक्षा र स्वास्थ्को कुरै नगरौ, सामान्य ज्वरो आउँदा समेत नजिकै रहेको भारतीय बजार दौडनु बाहेकको अर्को बिकल्प छैन उनिहरुसँग । बर्खायाममा बाढीले बिगारेको सडकका कारण एम्बुलेन्स जान सक्ने स्थिति समेत छैन,
बघौडामा । बघौडामा आगलागी हुँदा दमकल समेत जान नसकेर सयौं घर क्षणभरमै खरानी हुने गरेका छन ।
सरकारले स्वच्छ पिउने पानीको ब्यवस्था गर्न नसकेकै कारण आफना बालबालीकाहरु दिनुहँजसो झाडापखाला आउँ लगायतका रोगको शिकार भइरहेको बघौडावासीको गुनासो छ ।
राप्ती पारिका सबै साविक गाविसहरु खुल्ला दिसामुक्त घोषणा गरेपनि त्यस क्षेत्रका बासिन्दाले चर्पीको प्रयोग गर्दैनन् । कतिपय गाउँमा चर्पी कहाँ छ भनेर सोध्दा अझै पनि खेतबारी देखाउने गर्छन् ।
शुद्ध पिउने पानीको त कल्पना पनि गर्न सक्दैनन् यहाँका बासिन्दा । हाते पम्पको पानी पिउनुको विकल्प पनि छैन यहाँ । हाते पम्पबाट निस्कने पानीको गुणस्तर जाँच्न समेत पुगेको छैन सरकारी निकाय बघौडामा । तर, पछिल्ला दिनहरुमा खुल्ला दिसामुक्त क्षेत्र घोषणाले भने केही हद सम्म भएपनि सर्बसाधारणमा परिबर्तन ल्याएको बुझाई छ स्थानीयमा ।
यता खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका डिभिजन प्रमुख राजकुमार चौधरीले बघौडा क्षेत्रका सबै साविक गाविसहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेपनि दिगो सरसफाईमा चुनौति नै रहेको बताउँछन् ।
बिजुली सडक बाटोघाटोको सहज पहुँच नपाएका बघौडाबासीहरु पछिल्लो समय सरकारले शुरु गरेको हुलाकी सडक परियोजनाको कामको शूरुवातीबाट भने केही हद सम्म भएपनि आशाबादी देखिएका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     12:33:43 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *