23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

भारतबाट छ अर्बको खाद्यान्न आयात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४  

कोहलपुर, ३ बैशाख / नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक बर्ष २०७३।०७४ को आठ महिनाको अवधिमा छ अर्ब ६९ करोड ३५ लाख ६५ हजार मूल्य बराबरको खाद्यान्न आयात भएको छ । क्षेत्रीय प्लाण्ट क्वारेण्टिन कार्यालय नेपालगन्जका अनुसार तरकारी, फलफुल, खाद्यन्न, जडिबुटीसहित उक्त मूल्य बराबरको सामान आयात भएको हो ।
कार्यालयका अनुसार भारतबाट चालू आर्थिक बर्षको साउन देखि फागुन मसान्तसम्म तरकारी, मकै, प्याज र घाँसको बीउ बिजन ३९ लाख २८ हजार, बोटबिरुवा सात हजार, ताजा तरकारी २४ करोड ४५ लाख ७५ हजार, ताजा फलफुल १८ करोड १३ लाख २५ हजार मूल्य बराबरको आयात भएको छ । यस्तै गहु, मकै जौ ८६ करोड ७४ लाख ९५ हजार, चामल, दाल, पिठो, सोया चार अर्ब १५ करोड १३ लाख ७५ हजार र चना, मटर, मास, मुग, राज्मा दाल छ करोड ८ लाख १५ हजार मूल्यको आयात भएको छ । यस्तै तोरी र बदामको तेल ३६ करोड ६१ लाख २३ हजार, आलु ८० करोड ९२ लाख ३१ हजार र लसुन ९६ लाख ८८ हजार मूल्यको आयात भएको छ ।
क्षेत्रीय प्लाण्ट क्वारेण्टिन कार्यालय नेपालगन्जका प्रमुख थमनबहादुर कार्कीका अनुसार नेपालबाट ५४ करोड ११ लाख ७४ हजार मूल्य बराबरको खाद्यन्न, जडिबुटी निकासी भएको छ । नेपालगन्ज भन्सार हुँदै भारततर्फ प्रशोधित पिठो २७ लाख तीन हजार, पिना, चुन्नीभुसा १४ करोड ७१ लाख ८८ हजार मूल्यको निकासा भएको छ ।
यस्तै बनपैदावर जडिबुटी ३५ करोड ४३ लाख ४९ हजार, बालचिनी, तेजपात तीन करोड ५३ लाख दुई हजार र प्रशोधित सुठो १६ लाख ३२ हजार मूल्य बराबरको निर्यात भएको छ । भारतबाट आयात हुने खाद्यन्न, तरकारी, फलफुल र जडिबुटी भन्दा नेपालबाट जम्मा दुई प्रतिशत मात्र निर्यात हुँदै आएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४     3:36:01 PM  |