18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३  

कोहलपुर, २ चैत्र / बाँकेको सोनपुरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै २ राउण्ड हवाई फायर र २ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
मधेशी मोर्चाका कार्यकर्ताले सडकमा टायर बाल्न खोजेपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट एक महिला सहित एक दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विर बहादुर थापाका अनुसार मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा, पेट्रोल बम समेत प्रहार गर्न थालेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरिएको हो ।
पेट्रोल छर्केर गाडी जलाइयो मधेशी मोर्चाका कार्यकर्ताले बाँके उढरापुरमा भे १ ख २०४२ नम्बरको मिनि बसमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बर्दियाको राजापुरबाट दाङ्ग तुल्सीपुर जान लागेको गाडीको ४ वटा सिट जलेका छन् । ‘मधेशी मोर्चाको बन्द भएका कारण पुनः बर्दिया फर्कदै थियो’ घटनास्थलमा खटिएका सई भागिराम नेपालीले भने ‘फर्कने क्रममा पेट्रोल छर्केर आगो लगाए ।’
आमसभामा अप्रिय घटना हुन नदिन नेपालगञ्जमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन गरिएको थियो ।

रुट परिवर्तन
नेपालगञ्जको आमसभा सम्पन्न भएपछि नेकपा एमालेको मेची–महाकाली अभियानको रुट परिवर्तन गरियो । मधेशी मोर्चाको अवरोधका कारण खजुरा हुँदै बर्दिया गुलरिया जाने अभियान टोलीले रुट परिवर्तन गर्न बाध्य भएको हो । टोली कोहलपुर, लक्ष्मणा हुँदै गुलरिया पुगेको हो ।

प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३     12:24:34 PM  |