18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

गोल्डकप शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३  

कोहलपुर, २७ फागुन / नेपालगञ्जमा दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । पाँच लाख धनराशीको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ विजयी भएको
छ । साविक विजेता सुदूरपश्चिमले दिल्ली युनाइटेडलाई १–० गोलले पराजित गरेको हो । तीनजना विदेशी खेलाडी उतारेको सुदूरपश्चिमले २२ औं मिनेटमा अग्रता लिएको थियो । एरोनले गरेको गोल नै निर्णायक भएपछि सुदूरपश्चिमले सेमिफाइनल यात्रा तय गरेको हो । अब सुदूरपश्चिमले फाइनलमा पुग्नका लागि संकटा र सशस्त्र प्रहरीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
विदेशी खेलाडीसँग तालमेल नमिल्दा सुदूरपश्चिमले धेरै गोल गर्न सकेको थिएन । दिल्लीले राम्रो गोल गर्ने अवसर नै पाएन । नकआउट प्रतियोगिता भएकाले दुवै तर्फका खेलाडीले आक्रमक खेल खेलेका थिए । खेलमा कार्डको वर्षा नै
भयो । दुवैतर्फ गरी सात वटा पहेलो कार्ड देखाइएको थियो । सुदूरपश्चिमका ५ र दिल्लीका २ जनाले पहेलो कार्ड पाएका थिए ।
सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले खेल जिते पनि खेलाडीले सोचेजस्तो खेल खेल्न नसकेको बताए । पहिलो पटक उतारेको विदेशी खेलाडीसँग तालमेल नमिलेको उनले बताए ।
दिल्लीका प्रशिक्षक अनसुल कटियारले आफ्नो टीमले राम्रो खेलेको तर मौकाको पाउदा सदुपयोग गर्न नसकेको बताए ।
भर्खरै भारतमा सेकेन्ड डिभिजनको आइलिग खेलेर आएको र निरन्तरको खेलको थकाईले गर्दा टीम पराजित भएको क्याप्टेन लेप्चाले बताए ।
पाँच लाख पुरस्कारको नेपालगञ्ज गोल्डकपको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । पहिलो खेलको म्यान अफ द म्याच दिल्ली युनाइटेडका क्याप्टेन डन लेप्चा भएका थिए । उनलाई लेनेभो मोबाइल पुरस्कार दिइयो ।
सुदूरपश्चिमले अब सेमिफाइनलमा संकटा र सशस्त्र प्रहरीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार, आज शुक्रबार नेपालगञ्ज–११ र नेपाल प्रहरीका बीचमा खेल हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     1:02:07 PM  |