18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १६, २०७३  

सुदीप अधिकारी
बर्दिया, ६ साउन
संचालनमा आएको वर्षदिन नपुग्दै बबई नदीमा निर्माण गरिएको बबई पश्चिम ढोढरी कुलो नहर भत्किएको छ । बाढीका कारण नहर ठाउँठाउँमा ध्वस्त भएको छ । नहर भत्किँदा करिव ५० लाख रुपैँया बराबरको भौतिक क्षती भएको बबई सिँचाइ आयोजनाका साइड ओभरसियर सुदन नेपालले
बताए । गत मंगलबार बबई नदीमा आएको बाढी मानपुर गेटको बाँध फुटाएर पश्चिम ढाढरी कुलो नहरमा पसेको थियो। बबई नदी नहरमा मिसिएपछि नहर क्षति भएको हो । स्तरोन्नती गरिएको पश्चिम ढोढरी कुलो पक्की नहर यसै वर्षदेखि संचालनमा आएको थियो । ५ किलोमिटर पक्की नहरको विभिन्न ठाउँमा गरी ३५ भन्दाबढी प्यानल बाढीको भत्काएको निमार्ण कम्पनी कालिका रसुवा जेभीका प्रवन्धक निर्देशक शिव रिजालले बताए । उनका अनुसार नहरको क्षमता भन्दा बढी पानी आएकाले नहरमा क्षती भएको हो । नहरमा क्षमता भन्दा बढी पनि आएपछि नहर छेउछाउका करिव २ सय घर डुवानमा परेका थिए ।
नहर भत्कीएपछि सिँचाइ सुविधा ठप्प छ । खेतीको समयमा नहर भत्केपछि किसान मर्कामा परेका छन् । पश्चिम ढोढरी कुलो नहरबाट बग्नाहा, खैलार, बनकट्टी, शाहिपुर, ढोढरी, सानोश्री, ताराताललगाएतका क्षेत्रमा सिँचाई हुने गर्छ । सिँचाई ठप्प भएपछि स्थानियबासी श्रमदान गरेर नहर संचालन गर्न जुटेका छन् । स्थानियबासीले बोराको सहायताले नहर टालटुल गरिरहेका छन् । मानपुर गेट नजिक फुटेको बाँध बाधेपछि कामचलाउ रुपमा नहर संचालनमा आउने बताइएको छ । अस्थायि बाँध निमार्णका लागि एक्साभेटर र अन्य सामाग्री उपलब्ध गराएको कालिका रुसुवा जेभी निमार्ण कम्पनीले बतायो । नहरको मूल ठाउँ मानपुर गेटमा पक्की बाँध नबनाएकाले बाढीले बाँध फुटाएको स्थानियबासी बताउँछन् । ‘ मुल गेटको बाँध पक्की बनाउनु पर्ने हो । तर माटोको मात्र ड्याम बनाउँदा बाढीले बाँध फुटाएको हो,’ स्थानिय राम रैदास थारुले बताए ।
तीन वर्षअघि पनी बबई नदीको बाढीले पूर्वी नहरमा ५ करोड र पश्चिम साइफनदेखि खैलारसम्मको नहरमा २० करोड रुपैँयाको क्षति पुर्याएको थियो । हाल पूर्वी नहर मर्मत गरिएपनि पश्चिम साइफनदेखि मानपुर खैलार गेटसम्मको नहर मर्मत अझै भएको छैन । बबईको साइफन भने यस वर्ष मर्मत गरिएको छ ।

प्रकाशित मितिः आइतवार, साउन १६, २०७३     9:19:39 AM  |