27 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

बाँके निकुञ्जमा अब हात्ती सफारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १५, २०७३  

केशव राना
कोहलपुर, असार १५
पर्यटकीय गतिविधिलाई अघि बढाउन बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा हात्ती ल्याइएको छ । निकुञ्जमा १० वटा हात्तीको दरबन्दी स्वीकृत भएपनि पहिलो चरणमा ४ वटा काजमा हात्ती ल्याइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट भाले प्रजातीका समिरगज, गणेशगज, रेञ्जरगज र पोथी प्रजातीको शान्तिकली गरी ४ वटा हात्ती काजमा ल्याइएको बाँके निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । ‘काजमा ल्याइएको हात्तीहरुलाई पनि दरबन्दी मिलान गर्नेगरी तयारी भैरहेको छ’ उनले भने ‘पूर्वाधारको निर्माणपछि थप हात्तीहरु ल्याइन्छ ।’
अहिलेलाई ४ वटा हात्ती सहित ८ जना माउते ल्याइएको छ भने मंसिरतिर बाँकी हात्ती र माउते ल्याउने तयारी गरिरहेको उनले बताए । पर्यटकलाई आकर्षण गर्दै पर्यटकीय गतिविधि संचालन गर्न, पेट्रोलिङ्ग गस्ती, चोरी शिकार नियन्त्रण, अवैध गतिविधि नियन्त्रण र घाइते वन्यजन्तुको उद्धार, उपचार गर्नुपर्ने अवस्थामा हात्तीहरुको प्रयोग हुने उनले बताए ।
सरकारले बाँके निकुञ्ज अन्तरगतको ढकेरीको बुच्चापुर पोष्ट र कोहलपुरको खड्कवारमा हात्तीसार निर्माणका लागि स्वीकृत गरेको छ । साउनदेखि तोकिएको ठाउँमा हात्तिसारको कार्यालय, हात्ती बस्ने सेडघर, कर्मचारी बस्ने कार्यालयहरुको निर्माण थाल्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनले पर्यापर्यटनको विकासमा हात्तीसारको अहम् भूमिका हुने उल्लेख गरेकी छन् । ‘समुदायमा घाँसका विषयलाई लिएर समस्या पर्छ कि भन्ने मलाई लागेको छ’ उनले भनिन् ‘यो विषय पनि चाँडै नै व्यवस्थापन गर्छौ ।’
स्थानीय श्रीधर उपाध्यायले हात्तीसार निर्माणपछि स्वदेशी र विदेशी पर्यटककहरुको आगमनसँगै आयआर्जनमा वृद्धि हुने बताएका छन् । हात्तीसार स्थापनाका लागि स्थानीय स्तरबाटै पहल गरिएको बताउँदै उनले भने ‘हात्तीसार स्थापना हुनु हाम्रो लागि गौरवको कुरो हो ।’ यस्तै ढकेरी मध्यवर्ती अन्तरगत समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति अध्यक्ष शान्ति चौधरीले हात्तीसार स्थापनापछि प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पुग्ने बताइन् । आन्तरिक र बाह्य पर्यटनमा वृद्धि भएर आयआर्जन हुन थाल्यो भने संरक्षण सम्बन्धी स्थानीयको सोचमा परिवर्तन हुन सक्ने उनको बुझाई छ ।

प्रकाशित मितिः बुधबार, असार १५, २०७३     2:51:18 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *