8 September 2024  |   आइतवार, भदौ २३, २०८१

सेवाग्राहीसँग झर्कन्छन् नगरपालिकाका कर्मचारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ९, २०७३  

कर्मचारीले सेवाग्राहीमाथि दुव्र्यवहार गरेको ठहरिए कारबाही हुन्छ ः सिडिओ
माफी नमागे नगरपालिकाको कामकारबाही सञ्चालन गर्न नदिने वाईसिएलको चेतावनी
केशव राना
कोहलपुर, असार ९
सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने भएपनि कोहलपुर नगरपालिकाका कर्मचारीहरु भने झर्कने गरेका छन् । कुनै सेवाग्राहीले उजुरी नगरेका कारण आज सम्म कर्मचारीको रवैया बाहिर आएको थिएन । तर, बुधबार भने नगरपालिकाका कर्मचारीको रबैया छताछुल्ल भएको छ ।
आफ्ना छोराछोरीको जन्मदर्ता बनाउन आएका कोहलपुर ४ बेलनपुरका साहाबुद्धिन जागालाई पञ्जीकरण शाखाका कर्मचारी सीमा रोकायले झर्किएर जन्मदर्ता बन्दैन भन्दै कागज थमाई दिइन् । उनी आफ्ना छोराछोरीहरु साविया बानु जागा, मो.सेराजुद्धिन जागा, हासरुल जागाको जन्मदर्ता बनाउन नगरपालिका गएका थिए ।
‘नगरपालिका धाउन थालेको १०÷१२ दिन भैसक्यो’ उनले भने ‘आज (बुधबार) बिहानै आएको कहिले कुन कोठामा जा भन्छन्, अर्को कोठामा गयो फेरि त्यहीँ पठाउँछन्, त्यहाँबाट फेरि हुँदैन भन्दै फेरि त्यहीँ कोठामा पठाए ।’ उनलाई हुँदैन भन्दै ७ नम्बरबाट ३ नम्बर, ३ बाट ८ नम्बर, ८ बाट फेरि ७ नम्बर र ७ नम्बरबाट फेरि ३ नम्बर पठाएको उनले बताए । ‘कागजपत्रमा के कमी छ, त्यो भनेको भए म गैहाल्थे, त्यो पनि नभन्ने’ उनले भने ‘हुन्छ भने हुन्छ भन्नुस् हुन्न भने हुन्न भन्नुस् भन्दा उहाँले हुन्न भन्दै कागजपत्र थमाइदिनुभयो ।’
कर्मचारीहरुले दुःख दिने नियत राखेकै कारण यताउता चक्कर कटाएको वाईसिएल बाँके अध्यक्ष सुरज जागाले बताए । साथै कर्मचारी सीमा रोकायले ‘माओवादीहरु जहिले पनि झगडा गर्न मात्रै आउँछन्’ भन्दै पार्टीलाई नै आक्षेप लाग्ने गरी आफूलाई समेत दुव्र्यवहार गरेको वाइसिएल बाँके अध्यक्ष जागाले बताए । ‘कर्मचारी रोकायले एमाले र कांग्रेसले केही बोल्दैनन्, माओवादीहरु नगरपालिकाको ‘एन्टी’ छन् भनेर पार्टीलाई नै आक्षेप लगाउने कुरा गर्नुभयो’ उनले प्रतिप्रश्न गरे ‘मैले पार्टीको कुरा त उठाएको थिएन, कर्मचारीले पार्टी अनुसार काम गर्ने हो र ?’
बुधबार कार्यकारी अधिकृतलाई गुनासो पोख्न गएका वाइसिएल अध्यक्ष जागा सहितको टोलीलाई समेत कार्यकारी अधिकृत कै अगाडि उनले झपारेकी थिइन् । ‘कार्यकारी अधिकृत कै अगाडि पनि वाइसिएल बाँके अध्यक्ष जागालाई ‘तपाई जहिले पनि झगडा गर्नुहुन्छ’ भन्दै झर्किएर बोल्ने, झपार्ने गर्नुभयो’ वाईसिएल कोहलपुर नगरकमिटी अध्यक्ष आकाश कार्कीले भने ।
कार्यकारी अधिकृत कै अगाडि ती कर्मचारीले त्यसरी बोल्दा समेत कार्यकारी अधिकृत माधवप्रसाद शर्मा चुपचाप थिए । उनले सानो स्वरमा ‘त्यसो भन्न त भएन नी’ भन्नु बाहेक केही भन्न सकेनन् । गुनासो पोख्न गएका टोली सामू उनले जन्मदर्ताको काम हुने र बिहीबार यस विषयमा छलफल गरेर माफी मगाउने बताएपछि उनीहरु हिँडेका
थिए । यता वाईसिएलले कर्मचारी रोकायले माफी नमागेसम्म नगरपालिकाको कामकारबाही अघि बढ्न नदिने जनाएको छ । ‘दुव्र्यवहार गर्ने कर्मचारीले गल्ती भएको स्वीकार्दै माफी माग्नुपर्छ’ वाईसिएल कोहलपुर नगरकमिटी अध्यक्ष आकाश कार्कीले भने ‘त्यसो नगरे, नगरपालिकाका कामकारबाही आज बिहीबार सञ्चालन हुन दिन्नौं ।’
नगरपालिकाका कर्मचारीहरुको कामप्रति सेवाग्राही सन्तुष्ट हुन सकेका
छैनन् । नेपाली कांग्रेसका नगरपालिका पार्टी प्रतिनिधि भुम भण्डारीले कर्मचारीहरुले सेवा प्रवाह गर्दा मर्यादित ढंगले प्रस्तुत हुनुपर्ने बताउँछन् । उनले कर्मचारीहरुले दुव्र्यवहार गरेको सुन्नमा आएपनि औपचारिक रुपमा भने जानकारी नभएको बताए । उनले नगरपालिकाको कामकारबाही नै व्यवस्थित नभएको बताए ।
यस्तै नेकपा एमालेका नगरपालिका पार्टी प्रतिनिधि खिलप्रसाद भुषालले नगरपालिकाका कर्मचारीहरुको सेवाग्राहीसँग झर्कने, रिसाउने स्वभाव रहेको बताए । सेवाग्राहीलाई पाहुनाका रुपमा हेर्नुपर्ने बताउँदै उनले कर्मचारीको यस्तो स्वभाव सुधार्नुपर्ने धारणा राखे ।
सेवाग्राही माथि दुव्र्यवहार गर्ने कर्मचारीलाई राज्यले कारबाहीको नीति पनि बनाएको छ । कर्मचारीले सेवाग्राहीलाई दुव्र्यवहार गरेको ठहरिए विभागीय कारबाही हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । कोहलपुर नगरपालिकामा सेवाग्राहीको दुव्र्यवहार भएको बारेमा जानकारी नआएको बताउँदै कर्मचारीले सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने बताए । यदि त्यसो नगरेको उजुरी आएमा कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित मितिः बिहिबार, असार ९, २०७३     9:12:12 AM  |