केशव राना
कोहलपुर, असार ६
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीमा जोडिएको मोटर जफत गर्न शुरु गरेको छ । खानेपानी सहज रुपमा उपभोक्तासम्म पुग्न नसकेपछि अवैध रुपमा लगाइएको मोटर जफत गर्न थालेको हो ।
आइतबार कोहलपुरका ३० घरमा अनुगमन गरिएको छ । सोही क्रममा १३ वटा घरका खानेपानीमा जोडिएका मोटरहरु जफत गरिएको छ । जफत गरिएका मोटरहरु लिलामी गरिने संस्थाका अध्यक्ष नरबहादुर मल्लले जानकारी दिए । उनले संस्थाद्वारा वितरित खानेपानीका सम्पूर्ण धाराहरुको अनुगमन गरिने बताए । पहिलो पटक ५ हजार जरिवाना सहित मोटर जफत गरिएको बताउँदै अध्यक्ष मल्लले दोश्रो पटकमा ७ हजार जरिवाना सहित मोटर जफत र त्यसपछि १० हजार जरिवाना, मोटर जफतका साथै पानी नै बन्द गरिदिने बताए । ‘मोटर लगाएर पानी तान्ने गरेका कारण अन्यत्रका उपभोक्तासम्म पानी पुग्न पाउँदैन’ उनले भने ।खानेपानीको धारामा मोटर लगाएका कारण अन्य ठाउँमा पानीको सहज वितरण हुन नसकेपछि संस्थाले अनुगमनलाई तीव्र बनाएको अनुगमन समिति संयोजक यमबहादुर रावतले जानकारी दिए । उनले पानी चोर्ने, दुरुपयोग गर्ने, मोटर लगाई पानी तान्ने जस्ता अवैध गतिविधि गर्नेलाई कारबाही गरिरहेको बताए ।
कोहलपुरमा पानीको समस्या झन् झन् विकराल बन्दै गइरहेको छ । पानी कहिले आउने त कहिले नआउने भैरहेको छ । आएपनि ट्यांकीमा नचढ्ने समस्या छ । खानेपानी नियमित नहुँदा उपभोक्ताहरु समस्या परेका छन् । ट्यांकीमा पानी नचढ्ने, कहिलेकाँही पानी नै नआउने, आएपनि सानो मात्रामा पानी आउने गरेको उपभोक्ताको गुनासो छ ।संस्थामा हाल २ हजार ६ सय उपभोक्ताहरु रहेका छन् । अहिले पानीको माग १२ लाख पुगेको संस्थाको भनाई छ ।
प्रकाशित मिति : २०७३ असार ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्