बाँकेमा क्षयरोगीको सङ्ख्या बढ्दो



नेपालगन्ज, चैत २९ गते । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार, बाँके जिल्लामा प्रत्येक वर्ष पाँचदेखि सात प्रतिशत क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्कअनुसार, गत वर्ष जिल्लामा १४ जना क्षयरोगका बिरामीले ज्यान गुमाएका थिए भने प्रत्येक वर्ष औसत तीन प्रतिशत रोगीको मृत्यु हुने गरेको छ ।

जिल्लामा हाल ९०४ जना क्षयरोगीका बिरामीको उपचार भइरहेको छ । तीमध्ये महिला ३६० र पुरुष ५४४ रहेको फोकलपर्सन प्रेम केसीले जानकारी गराउनुभयो । तथ्याङ्कअनुसार, जिल्लाका बिभिन्न स्वास्थ्य संस्था र अस्पताल गरी ५९ स्वास्थ्य केन्द्रमा क्षयरोगीका बिरामीको उपचार हुने गरेको छ ।

क्षयरोगका बिरामीलाई आठ महिनासम्म नियमित तालिम प्राप्त स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको छ भने गम्भीर प्रकृतिका बिरामीलाई स्वास्थ्य संस्थामा राखेर औषधि उपचार सेवा दिने गरिएको छ ।

यी व्यवस्थाका बाबजुद पनि अज्ञानता र रोगलाई गम्भीररुपमा नलिने प्रवृतिका कारण १३ प्रतिशत बिरामीले बीचमै औषधि खान छाड्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा अभैm पनि १० प्रतिशत बिरामी उपचार सेवाको पहुँचसम्म पुग्न सकेका छैनन् भने उपचारमा ८७ प्रतिशत सफलता प्राप्त हुने तथ्याङ्कले देखाएको छ ।

नेपाल–भारत खुला सिमानाका कारण जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढिरहेको छ भने सहरीकरणका कारण मध्य तथा सुदूरपश्चिमका अन्य जिल्लाभन्दा बाँकेमा क्षयरोगी उच्च जोखिममा रहेको बताइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २९ गते सोमबार