अछाम, चैत्र १७
अछामको तुर्माखाँदमा गरिएको नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका तस्वीरहरुको प्रदर्शनी हेर्न राउटे समुदायको भींड लाग्यो । मुखिया सूर्यनारायण शाही सहित पुगेका राउटेहरुले निकै अभिरुची पूर्वक तस्वीरहरु नियाले ।
‘सुशील कोइरालाको दाईका तस्वीरहरु देखाउदै छ भन्ने थाहा पाएर आएको हँु’ मुखिया शाहीले फोटो प्रदर्शनी हलको ढोका खुल्नु भन्दा अघि यात्राका परिकल्पनाकार एवं टिमलिडर जयनारायण शाह सँग कुरा गर्दै भने ‘प्रधानमन्त्री सुशील कोइरालालाई मैले भेटेको थिएँ,४ लाख सहयोग पनि गरेका थिए ।’ उनले आफ्नै लवजमा भने ‘बीपी सुशील कोइरालाको दाई रहेछ ।’
यस अघि उक्त प्रदर्शनीको नेपाली काँंग्रेस अछामका सभापति एवं जिविस अछामका पूर्व सभापति भरत कुमार स्वाँरले बीपीको पूर्ण कदको तस्वीरको फोटो खिचेर उद्घाटन गरे । ‘अछामको दुर्गम गाउँमा यसरी बीपीका तस्वीहरु हेर्न पाउनु खुशीको कुरा हो’ स्वाँरले भने – अन्तराललाई धन्यवाद दिन चाहन्छु ।
प्रदर्शनी हेर्न जिल्लाका विभिन्न ठाउँवाट राजनीतिक दलका नेता, शिक्षक,व्यापारी, विद्यार्थी र सर्वसाधारणहरु तुर्माखाँद पुगेका थिए । नेकपा एमाले, राप्रपा नेपाल र नेकपा माओवादी सहितका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए । स्थानीयले बाजागाजा सहित र्याली निकालेका थिए ।
अन्तरालको व्यवस्थापनमा शुरु भएकोे बीपी कोइराला ऐतिहासिक फोटो प्रदर्शनी यात्राको पहिलो कार्यक्रम महाकाली पारी दोधारा चाँदनी(कञ्चनपूर) मा भएको थियो । मूलुकका ७५ जिल्लाका १ सय १ स्थानमा आयोजना गरिने यस प्रदर्शनीमा राखिएका तस्वीरहरु सांस्कृतिक संग्रहालय नेपालले संकलन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्