18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

गल्ती सच्याउन कांग्रेस सरकारमा आउनुपर्छ ः नेता ज्ञवाली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १२, २०७२  

कोहलपुर १२
एमाले नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेस सरकारमा सहभागी भई संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताएका छन् । कांग्रेसलाई सरकारमा सहभागी गराउन प्रयास भैरहेको भन्दै उनले १६ बुँदे सहमतिका बेला भएको भद्र सहमति लत्याएको कांग्रेसले सरकारमा सहभागी भएर उक्त गल्ती सच्याउनुपर्ने बताए ।
शुक्रबार प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा ‘हावादारी’ भएको दाबी गरे ।
उनले संविधान कार्यान्वयनका लागि सबै दलहरु एकजुट भएर लाग्नु पर्ने भएकाले कांग्रेस वर्तमान सरकारमा सहभागी हुनु जरुरी रहेको बताएका थिए ।
यस्तै फरक प्रसङ्गमा नेता ज्ञवालीले चिनसँग पारवाहन सम्झौता गरेर भारतसँगको परनिर्भरताको अन्त्य भएको बताएका छन् । चिनसँग भएको सम्झौताले भारत तर्सिने अवस्था नरहेको बताउँदै एमाले सचिव समेत रहेका नेता ज्ञवालीले भारत र चिनसँगको सम्बन्ध सन्तुलित हुने बताए ।
यस्तै मधेशीका मागहरु संविधान संशोधन गरी समेटिएको उनले उल्लेख गरे । उनले सीमांकन पुनरावलोकन तीन महिनाभित्र टुंगो लाग्ने विश्वास व्यक्त गरे । साथै उनले विदेशीको बुई चढेर गरिने आन्दोलनले राष्ट्र र जनताको हित नगर्ने बताए ।
प्रेस चौतारी नेपाल बाँके अध्यक्ष हेमन्त बिकको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १२, २०७२     6:10:04 PM  |