नेपालगन्ज, चैत १२ – बाँकेको नेपालगञ्ज उप–महानगरपालिका १३ भृकुटीनगरका सुरेश वलीले १० वर्षपछि आफ्नो ट्रयाक्टर भेट्नु भएको छ । २०६२ साल भदौमा छाडेको ट्रयाक्टर उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा एकहप्ता अघि भेट्टाउनुभयो ।
तत्कालिन विद्रोही माओवादीको विद्यार्थी संगठनमा आवद्ध वली खोलाजन्य पदार्थ लिन महादेवपुरी गाविसको ठकेरी नजिकै पुग्दा सुरक्षाकर्मीले पच्छाएपछि उहाँ २०६२ साल भदौ ६ गते ट्रयाक्टर छोडेर भाग्नुभएको थियो । माओवादी द्वन्द्व जारी रहेका बेलामा उहाँले ट्रयाक्टर पाउने कुरै भएन । पछि माओवादी शान्तिप्रक्रियामा आए लगत्तै उहाँ वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्नुभयो ।
तर अहिले स्वदेश फर्किएका वलीले एकसाताअघि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा काम विशेषले जादा भे १ त १५६७ नम्बरको पुरानो ट्रयाक्टर देख्नुभयो ।
२०६१ सालमा कृषि विकास बैंकबाट पाँच लाख रुपैयाँ ऋण लिएर ट्रयाक्टर किनेका वलीले ऋण नतिरेका कारण भृकुटीनगरमा एक कठ्ठामा बनेको घर लिलाम हुने अवस्थामा पुगेपछि त्यै घर बेचेर १३ लाख रुपैयाँ सावा ब्याज बैंकलाई बुझाएको बताउनुभयो ।
स्थानीय शान्ति समितिको सिफारिसमा बैंकले ७० प्रतिशत ब्याज मिनाह गर्दा पनि उहाँले १३ लाख रुपैयाँ बुझाउनु परेको हो । शुक्रबार स्थानीय शान्ति समिति बाँकेका संयोजक तेजबिक्रम शाहसहित जिल्ला प्रहरी कार्यालयमा पुगेका वलीले ट्रयाक्टरको चेसिज र इञ्जिन नम्बर मिलेको बताउनुभयो ।
-उज्योलो अनलाइनबाट
प्रतिक्रिया दिनुहोस्