16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

पहाडी जिल्लामा होली मनाइदैं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ९, २०७२  

 चैत ९ । देशका पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्नेवरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णीमाको दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णीमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ । सरकाले तराईमा पूर्णीमाको भोली पल्ट होलीको सार्वजनिक विदा दिए पनि एक दिन अगावै होलीको रौनक सुरु भईसकेको छ । मिथिलाञ्चलमा पञ्चमीमा होली समापन गर्ने चलन छ ।

यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका अछाम, डोटीगायतका जिल्लामा पूर्णीमाको राति रंगीचंगी ध्वजापताकाले रंग्याएको चिरमा आगो लगाउने र भोलीपल्ट होली विसर्जन गर्ने परम्परा छ । त्यहाँ पूर्णीमाको रातभर र भोलिपल्ट दिनभर श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ९, २०७२     7:54:01 AM  |