प्याब्सन र नेशनल प्याब्सनको ध्यानाकर्षण



कोहलपुर, चैत्र २
जिल्ला शिक्षा कार्यालय बाँकेले शुल्क निर्धारण सम्बन्धी सूचना जारी गरेपछि प्याब्सन बाँके र नेशनल प्याब्सन बाँकेले ध्यानाकर्षण जनाएको छ । एक संयुक्त विज्ञप्ति जारी गर्दै निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका प्रति असहमति जनाएको हो ।
राज्यले सहजकर्ता र सेवा गुणस्तरको अनुगमन गर्नु बाहेक अन्य निर्णय गर्नु उचित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्याब्सन बाँके अध्यक्ष ऋषीकेश जिसि र नेशनल प्याब्सन बाँके अध्यक्ष कुबेर बस्नेतद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ ‘दुई तिहाई अभिभावकको भेलाले शुल्क प्रस्ताव गर्नु आफैमा अवैज्ञानिक प्रणाली हो भने यो निर्देशिका शिक्षा ऐनको मर्म विपरित रहेको समेत प्याब्सन र नेशनल प्याब्सन, बाँकेको ठहर छ ।’ विज्ञप्तिमार्फत सम्पूर्ण संस्थागत विद्यालय सञ्चालकहरुमा जे जसरी विगतमा गरि आएको छ, सोही अनुसार आ–आफ्ना अभिभावक र समुदायको क्षमता अनुसार शुल्क समायोजन गरी अगाडि बढ्न अनुरोध गरेको छ ।
यदि प्रत्येक विद्यालयको अभिभावकले शुल्क प्रस्ताव गर्ने हो भने विद्यालयको सञ्चालनमा हुने घाटा, नाफा र सेवा सुविधा प्रति स्वयं अभिभावक र राज्यले जिम्मेवार बन्नुपर्ने एन प्याब्सन बाँके सचिव श्याम कुँवरले
बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २ गते मंगलबार