कोहलपुर, फागुन २७
नेपाल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्णबहादुर शाहीले शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका अवैज्ञानिक भएको बताएका छन् । एन प्याब्सन बाँकेको छैठौं अधिवेशनकोे उद्घाटन गर्दै शाहीले यस्तो बताएका हुन् । उनले राजनीतिक गर्नका लागि अभिभावक भेलाको दुई तिहाईले शुल्क तय गर्ने कुरा ल्याइएको आरोप लगाएका
छन् । उनले शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका आफूहरुलाई मान्य नहुने बताएका छन् । यदि जबर्जस्ती लाद्न मापदण्ड खोजेमा आफूहरु चुप लागेर नबस्ने समेत उनले चेतावनी समेत दिएका छन् । ‘यो निर्देशिकालाई संसोधन नगरे हामी आन्दोलनमा जानै पर्ने अवस्था आउनेछ’ उनले भने । निजी विद्यालयहरुलाई धराशायी गर्ने खालको निर्देशिका भएको उनले आरोप लगाएका छन् ।
राज्यले संस्थागत विद्यालयलाई अपराध गरेको समेत उनले बताएका छन् । ‘हामीले उत्पादन गरेका विद्यार्थीहरुलाई राज्यले दिने सेवा सुविधाबाट बञ्चित गरेको छ’ उनले भने । यस्तै उनले शिक्षामा व्यापार हुन जरुरी रहेको बताएका छन् । ‘शिक्षामा व्यापार हुन जरुरी छ’ उनले भने ‘शिक्षामा सामाजिक दायित्व सहितको बैध व्यापार हुनु आवश्यक छ ।’ कार्यक्रममा बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापा, एन प्याब्सनका केन्दिद्रय उपाध्यक्ष कृष्ण भुषाल, महासचिव प्रकाश पाण्डे, श्याम सिंह मौर्य लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो । कार्यक्रममा लामो समय जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरिक्षकका रुपमा कार्यरत रही अवकास भएका कृष्णराज पौडेललाई सम्मान गरिएको थियो । अध्यक्ष कुवेर बस्नेतको सभापतित्वमा भएको उद्घाटनसत्रको सञ्चालन सचिव श्याम कुँवरले गरेका थिए ।
प्रकाशित मिति : २०७२ फागुन २७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्