19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मदरसाका मौलानाहरुद्धारा सरकारी बिद्यालयमा सिकाई आदान प्रदान भ्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १३, २०७२  

नेपालगन्ज, १३ फागुन ः

बाँकेको नेपालगन्ज उपमहानगरपालिका र गाविसहरुमा संचालनमा रहेका २० वटा मदरसाका मौलानाहरुको एक टोलीले पहिलो पटक बाँकेको एक सरकारी बिद्यालयमा सिकाई आदान प्रदान भ्रमण गरेको छ ।
मदरसा संचालक मौलाना, प्रधानाध्यापक, शिक्षकसहितको सो टोलीले बिहिबार नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय चटार कोहलपुर पुगेर सो बिद्यालमा सिकाई आदान प्रदान गरेको होे ।
मौलानाहरुको सो टोलीले चटारस्थित सो बिद्यालयमा पुगेर प्रत्येक कक्षा कोठामा गएर शिक्षण बिधी हेर्नुका साथै त्यहाँ निर्माण गरिएको शैक्षिक सामाग्री बारे चासो लिएको र कक्षा कोठाको निति नियम बारे पनि पहिलो पटक जानकारी आदान प्रदान गरेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
टोलीले पुस्तकालयको समेत अनुगमन गर्दै बिद्यालयको खेल मैदानदेखि अन्य सबै भौतिक पूर्वाधार बारे पनि जानकारी लिएको थियो ।
मदरसाको उक्त टोलीको स्वागत गर्दै नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय चटार कोहलपुरका प्रधानाध्यापक जगतपाल थारुले पहिलो पटक मदरसाको टोलीले सरकारी बिद्यालयमा भ्रमण गरेको निकै खुशी लागेको जनाउदै यस्ता भ्रमणबाट शिक्षाको गुणस्तर बढाउन सहयोग पुग्ने तथा मदरसा र बिद्यालय दुबै ठाउँका राम्रा सिकाइलाई दुबै ठाउँमा लागु गर्नु पर्नेमा जोड दिनु भयो ।
बिद्यालयको पृष्ठभूमि तथा शैक्षिक अवस्था बारे जानकारी गराउँदै उहाँले सरकारी बिद्यालबाट पनि मदरसाहरुको यसै प्रकारको भ्रमण गराउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
टोलीमा रहनु भएका दारुलउलुम गुलशने मदिनाका प्रधानाध्यापक मौलाना नसरुद्दीन अन्सारीले पहिलो पटक गरिएको यो भ्रमण निकै फलदायी भएको जनाउदै बिद्यालयको सरसफाई, शिक्षण बिधि र सामान राख्ने तरिकाबाट आफु प्रभावित भएको बताउनु भयो ।
उहाँले बिद्यालयका राम्रा कुरालाई मदरसामा पनि लागु गरिने प्रतिबद्धता सो अवसरमा प्रकट गर्नुभयो ।
दारुलउलुम मस्उदिया गरिब नवाज नेपालगन्ज–२३ इन्द्रपुरका प्रधानाध्यापक मौलाना मुजाहीद रजा कादरी र मदरसा गाजिया अनवारुल उलुम पुरैनीका शिक्षक मोहम्मद जाकीर हलवाईले पनि भ्रमणबाट धेरै कुरा सिक्ने र आदान प्रदान समेत गर्ने अवसर मिलेको बताउनु भयो ।
औपचारिक शिक्षामा मदरसा मूल प्रवाहीकरण कार्यक्रममा सेभ द चिल्ड्रेनले आर्थिक सहयोग बन्द गरेपनि बाँके युनेस्को क्लबले सो कार्यक्रमको निरन्तर अनुगमन, मूल्यांकन तथा कार्यान्वयन गर्दै आएको छ ।
भ्रमण टोलीमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गुलाम गौस कादरी, सामाजिक परिचालकहरु मिना चौधरी र मोहम्मद इरफानको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १३, २०७२     6:20:09 PM  |