दुई महिनायताकै बढी संक्रमित थपिए



कोहलपुर ,

बाँकेमा शुक्रबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा विभिन्न प्रयोगशालामा २०७ जनामा गरिएको परिक्षणमा कुल ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जुन पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै हो । बिहीबार मात्रै बाँकेका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार कोरोना संक्रमित ह्वात्तै बढेका हुन् । ती मध्ये १८ जना बाँके जिल्लाका रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका १३ जना मध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका ८ जना, नेपालगञ्जका ३ जना र बैजनाथ र नरैनापुर गाउँपालिकाका समान १÷१ जना रहेका छन् ।

यस्तै बर्दिया जिल्लाका २३ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । बाँके र बर्दिया बाहेक अन्य जिल्लाका १२ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए । हालसम्मको तथ्यांक अनुसार भेरी अस्पतालमा कोभिड बेडको संख्या २ सय रहेको छ ।

यस्तै वेस्टर्न अस्पतालका १९ गरी कुल २१९ बेड संख्या रहेको जनाइएको छ । ती बेडमा ३३ जना बिरामी रहेका छन्, १७ जना मध्यम खालका र १६ जना सिकिस्त रहेको ओलीको भनाइ छ । कोभिड अस्पतालमा बाँके जिल्लाका मात्रै १० जना र बाहिरी जिल्लाका २३ जना रहेको केन्द्रद्धारा जारी गरिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

अहिलेसम्म कोरोनाका कारण बाँके जिल्लाका ३२२ जना र बाँकेमा उपचारको क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ३८१ जना गरी कुल ७०३ जनाको मृत्यु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २३ गते शनिबार