जुम्लालाई ६ नं प्रदेशको सुन्दर सहर बनाइने



Jumla_district_locationजुम्ला–एनेकपा (माओवादी) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जुम्लालाई प्रदेश नं ६ को सुन्दर सहर निर्माण गर्ने योजना तयार गरिएको बताएका छन् । आन्तरिक पार्टी निर्माणको सन्दर्भमा बुधवार जुम्ला आइपुगेका नेता शर्माले पत्रकार भेटघाट कार्यक्रममा कुरा गर्दै आफ्नो पार्टीले प्रदेश नं ६ को सबै कुरालाई समेटेर कार्य योजना निर्माण गरेको जनाए ।

प्रदेश नं ६ का इन्चार्जसमेत रहेका नेता शर्माले भर्खरै मात्र यो प्रदेशको कार्ययोजना तयार गरी सुर्खेतमा सार्वजनिक गरेको बताए । कर्णाली ऐतिहासिक महत्वको प्रदेश भएपनि अन्य प्रदेशभन्दा कमजोर भएको औँल्याउँदै उनले १६ लाख २३ हजार जनसङ्ख्या रहेको यो प्रदेश सम्पन्न बनाउने परिकल्पना रहेको विचार व्यक्त गरे ।

विकास कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाबाट सुरु गर्नुपर्ने उनको तर्क थियो । कर्णालीको जलस्रोत, कृषि र जडीबुटीलाई उच्चतम प्रयोग गरी समृद्धि हासिल गर्न पार्टीले यसलाई प्रमुखताका रुपमा लिएको बताइएको छ । मुलुकमा भ्रष्टाचार व्याप्त भएको र शक्ति केन्द्रमा मात्र भएकाले समानुपातिक विकास हुन नसकेको उनको आरोप थियो ।

राजनीतिक पक्ष यसको प्रधान दोषी रहेको जनाउँदै नेता शर्माले भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाउनेखालका कार्यक्रम आफ्नो पार्टीले अघि सारेको बताए । आफू लेखा समितिको संयोजक हुँदा नै यसको खबरदारी गर्दै आएको बताउँदै उनले कर्मचारी वर्गलाई राजनीतिक नेताहरुलेसही दिशानिर्देश गर्न नसकेको औँल्याए ।

देश संविधानमय भइसकेकाले अब नवनिर्मित संविधानको कार्यान्वयन गर्नु मुख्य कार्यभार रहेको छ र ३०० कानुन निर्माण गर्नुपर्ने देखिन्छ, उनले भने । उनका अनुसार सरकारलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ अघि बढ्न सुझाव दिइएको छ । भूकम्पले तहसनहस भएको नेपाल नाकाबन्दीबाट झनै थिलथिलो भयो । यसबाट सिर्जित भारत–नेपालबीचको तिक्तता हटाउन र बिग्रेको सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएर पठाएका हौँ, उनले थपे ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १३ गते बिहीबार