सुदीप अधिकारी
बर्दिया,१० फागुन
विभिन्न समयमा वन तथा वन्यजन्तु अपराधमा संलग्न भएर फरार रहेका अपराधीहरु यतीखेर धमाधम पक्राउ पर्ने थालेका छन् । केही महिना यता निकुञ्ज र प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले विशेष अभियान थालेपछि फरार अपराधीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।
एक महिना यता ३६ जना फरार अपराधीहरु पक्राउ परिसकेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए । निकुञ्जको विवरण अनुसार अघिल्लो माघ महिनासम्म १ सय ५५ जना वन्यजन्तु अपराधीहरु फरार थिए । एक महिनामा अहिले यो संख्या घटेर १ सय १७ पुगेको छ । पछिल्लो समयमा फरार अपराधीलाई पक्राउ गर्न निकुञ्ज र सीआइबीले सक्रियता देखाएपछि पक्राउ पर्ने क्रम बढ्दै गएको हो ।
निकुञ्ज स्रोतका अनुसार बर्दियामा अझै ९३ जना वन्यजन्तु अपराधीहरु फरार छन् । यसैगरी सुर्खेतका १५ जना, कैलालीका ८ र बाँकेका २ जना फरार छन् । भने कालिकोट, बाजुरा र काठमाण्डौका १÷१ निकुञ्जको फरार सूचीमा छन् । फरार व्यक्तिहरुको खोजीका लागि निकुञ्ज र प्रहरी (सीआइबी)ले स्वीप अप्रेशन जारी राखेको निकुञ्जले जनाएको छ ।
सुरक्षा निकय र निकुञ्ज प्रशासन बिच राम्रो समन्वय बढेकाले फरार अपराधी पक्राउ गर्न सहज हुँदै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । उनले भने,‘ अहिले प्रहरी प्रशासन र निकुञ्ज बिच प्रभावकारी समन्वय भइरहेको छ । जसका कारण धमाधम अपराधीहरु पक्राउ पर्न थालेका छन् । यो हाम्रो लागि ठूलो उपलब्धी हो ।’
प्रतिक्रिया दिनुहोस्